१२ औं आदर्श तथा सातौ तारा स्मृति कप फुटबलको खेल तालिका सार्वजनिक

तनहुँको म्याग्दे गाउँपालिका-४ मनहरीस्थित आदर्श नमूना क्लवको आयोजनामा चैत २० गते देखि सुरु हुने १२ औं आदर्श तथा सातौ तारा स्मृति कप सेभेन ए साइड फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।

म्याग्दे गाउँपालीका वडा नं ४ का अध्यक्ष दिपक कुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा सोमबार लक्की ड्र गरेर आयोजकले खेल तालिका सार्वजनिक गरेको हो । उक्त कार्यक्रममा क्लबका पुर्व अध्यक्ष गाैरब राज राना लगायत क्लवका अन्य पदाधिकारी , सदस्यहरूको उपस्थिति रहेको थियो ।



२४ गतेसम्म हुने प्रतियोगितामा १६ टिमको सहभागिता रहेकाे छ । प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको क्लवका अध्यक्ष अक्षय कुमार कायस्थले जानकारी दिए ।
युवाको कामना, सकारात्मक परिवर्तनमा आदर्श नमुना भन्ने मुल नाराका साथ आदर्श नमुना क्लब म्याग्दे-४. मनहरीकाे खेलमैदानमा प्रतियोगिता हुँदैछ ।


उक्त फुटबल प्रतियोगितामा प्रथम हुने टिमलाई ७५ हजार नगद सहित ट्रफी, मेडल र प्रमाण-पत्र तथा द्वितिय हुने टिमलाई ४० हजार नगद सहित ट्रफी, मेडल र प्रमाण-पत्र प्रदान गरिने अध्यक्ष कायस्थले बताए ।
यस्तै उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक र डिफेण्डरलाई विशेष पुरस्कारको व्यवस्था गरिएको क्लवका खेल संयाेजक सलन थापाले बताए ।
प्रतियोगिताका लागि सह-आयोजककाे रूपमा म्याग्दे गाँउपालिका वडा नं. ४ रहेको छ ।
क्लवले २०६८ सालदेखि हरेक बर्ष फुटबल खेल प्रतियोगिता गर्दै आएको छ । तनहुँ फुटबलको इतिहासमा १२ बर्ष सम्म अनवरत रूपमा प्रतियोगिता आयोजना गर्ने आदर्श नमुना क्लव मात्रै रहेको क्लवले दाबि गरेको छ । क्लवले निर्माण गरेको खेलमैदान म्याग्देमै उत्कृष्ट समेत रहेको छ ।




































