चैत भित्र घर भत्काउन मेयर न्याैपानेकाे आग्रह:
व्यास नगरपालिकाले सडक अधिकार क्षेत्र भित्र पर्ने संरचना हटाई सडक विस्तार कार्यमा सहयोग गर्न व्यास २ ,३ र ४ नम्बर क्षेत्रका घरधनीलाई अनुरोध गरेको छ । व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले सोमबार प्रेस विज्ञप्ति प्रकाशित गरि सडक क्षेत्रका घर संरचना हटाई सडक विस्तार, विद्युत पोल स्नानान्तरण कार्यमा सहयोग पुर्याइदिनु हुन र सहजीकरण गरिदिनु हुन अनुरोध गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ–‘काठमाडाैं बाट पोखरा जाने पृथ्वीराजमार्गको मुग्लिङ–पोखरा खण्ड हाल एसियाली विकास बैंकको सहयोगमा सडक विस्तार भइरहेको विदितै छ । सडक विस्तार अभियानमा सडक अधिकार क्षेत्रभित्रका संरचना हटाउन आयोजनाको तर्फवाट क्षतिपूर्ती समेत उपलब्ध गराईएको छ । दमौली वजार अन्तर्गत बडा नम्बर २ र ४ का केही घरहरुले सडक अधिकार क्षेत्रका संरचनाहरु हटाई सहयोग पुर्याउनु भएकोमा त्यस्ता घरधनी सामाजिक संघ÷संस्थालाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु ।’

अझै केही घरधनीहरु सम्पर्कमा नआएका, केही घरधनीहरुले मुआब्जाको पहिलो किस्ता बुझेर पनि संरचना हटाउन ढिलाइ गरेको प्रति नगरपालिकाको ध्यान आकर्षण भएको नगरपालिकाले जनाएको छ ।
अब केही महिना पछि वर्षा लाग्ने भएकाले सडक निर्माण कार्यलाई तिव्रता दिई शहरको सौन्दर्यता र धुलोले वातावरणमा पुन्याएको असरलाई कम गर्न सबै सरोकारवाला घरधनीहरुलाई चैत्र महिनाभित्रै आयोजनामा सम्पर्क राखी आ–आफ्नो मुआब्जा रकम बुझ्न तत्काल सडक क्षेत्रका घर संरचना हटाई सडक विस्तार, विद्युत पोल स्नानान्तरण कार्यमा सहयोग पुर्याउन र सहजीकरण गर्न सामाजिक संघ÷संस्था, राजनैतिक दल, सुरक्षा निकायलाई मेयर न्यौपानेले अनुरोध गरेका छन् ।





































