आँबुखैरेनीकाे महायज्ञमा गाउँपालिकाका कर्मचारीले गरे ५ लाख ५५ हजार ५५५ दान
आँबुखैरेनी गाउँपालिका–५ स्थित छिम्केश्वरी र बुढीमाई मन्दिरको बृहत विकास र संरक्षण एवं धार्मिक पर्यटन प्रवद्र्धनका लागि लगाइएको श्रीमद्भागवत सप्ताह ज्ञानमहायज्ञमा आँबुखैरनी गाउँपालिकामा कार्यरत कर्मचारीले ठुलो दान गरेका छन् ।

आबुखैरेनी गाउँपालिका कार्यालय र गाउँपालिका मातहतका कार्यालयहरु आबुखैरेनी हस्पिटल,१ देखि ६ न वडा , स्वास्थ चौकीहरुमा कार्यरत कर्मचारीबाट रु.पाँच लाख ५५ हजार पाँच सय ५५.५५ पैसा सहयोग गरेका हुन् ।
आँबुखैरेनी–३ हाटबजार क्षेत्रमा जारी महायज्ञको छैटौं दिन शुक्रबार कर्मचारीहरुले संयुक्त रुपमा उक्त रकम दान प्रदान गरेका हुन् । यस अघि पाँचौं दिनसम्म रु.एक करोड दान संकलन भएको आयोजक समितिले जनाएको छ ।
महायज्ञ संकलित रकम मन्दिर क्षेत्रका स्थायी संरचना, ध्यान केन्द्र, सभाहल, विश्रामगृह, शौचालय, सरसफाइ पूर्वाधार, बाटो र पार्किङ निर्माणमा खर्च गरिने मूल समारोह समितिका संयोजक तथा छिम्केश्वरी पर्यटन विकास समितिका अध्यक्ष कृष्णमान तामाङले बताए ।
महायज्ञ अवधिभर १० करोड संकलन गर्ने लक्ष्य राखिएको महायज्ञ कात्तिक १५ गतेसम्म सञ्चालन हुँदैछ ।
साथै, समितिले फूल तालिम केन्द्र स्थापना, भक्तजनको आवागमन सहज बनाउने, सरसफाइ सुदृढीकरण र धार्मिक पर्यटन प्रवद्र्धनलाई प्राथमिक दिइने कार्ययोजना समेत अघि सारेको छ ।


महाभारत पर्वत श्रृङ्खलाको २१३४ मिटर उचाइमा अवस्थित मन्दिर क्षेत्रको समग्र विकासका लागि आयोजित उक्त महायज्ञमा वाचन प्रविण पण्डित श्री दिनबन्धु पोखरेलले श्रीमद्भागवत वाचन गरेका छन् ।
धार्मिक विश्वास अनुसार गोरखाको मनकामनामाईकी दिदीका रूपमा पूजिँदै आएकी छिम्केश्वरी र बुढीमाईको दर्शनले मनोकामना पूरा हुने जनविश्वास छ । समुद्र सतहदेखि २,१३४ मिटर उचाइमा अवस्थित छिम्केश्वरी मन्दिरबाट धौलागिरि, अन्नपूर्ण, मनास्लु, बुद्ध, सैपाल र अपि हिमालको मनोरम दृश्य अवलोकन गर्न सकिन्छ ।
























