प्रा.डा. निर्मलमणि अधिकारी केयुको प्राज्ञिक परिषद् सदस्यमा मनोनित
काठमाडौं, ९ पुस
विश्वविख्यात लेखक तथा सञ्चारविद् प्रा.डा. निर्मलमणि अधिकारी काठमाडौं विश्वविद्यालय (केयु) को प्राज्ञिक परिषद् (एकेडेमिक काउन्सिल) सदस्यमा मनोनित हुनुभएको छ।
विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्रीको अध्यक्षतामा बसेको विश्वविद्यालय सभा (सिनेट) को बैठकले उहाँको विशिष्ट प्राज्ञिक योगदानको कदर गर्दै परिषद् सदस्यमा मनोनयन गर्ने निर्णय गरेको हो। काठमाडौं विश्वविद्यालय ऐन, २०४८ बमोजिम उहाँ तीन वर्षका लागि सदस्य रहनुहुनेछ।
तनहुँको म्याग्दे गाउँपालिका–४, छाङ (पिपलटार) मा जन्मनुभएका डा. अधिकारी हाल काठमाडौं विश्वविद्यालयको भाषा तथा आमसञ्चार विभाग प्रमुख तथा मिडिया अध्ययन विषय समितिका अध्यक्ष हुनुहुन्छ।
डा. अधिकारीले विकास गर्नुभएको ‘साधारणीकरण (Sadharanikaran) सञ्चार मोडल’ ले अन्तर्राष्ट्रिय सञ्चार सिद्धान्तमा नयाँ आयाम थपेको मानिन्छ। हालसम्म उहाँका ६१ वटा कृतिहरू प्रकाशित भइसकेका छन्।

उहाँद्वारा लिखित ‘आस्थाको शान्ति युद्ध’ तथा ‘सञ्चारको सिद्धान्त र अभ्यास – भरत मुनि’ जस्ता कृतिहरू विश्वका विभिन्न प्रतिष्ठित विश्वविद्यालयहरूमा पाठ्यसामग्रीका रूपमा अध्यापन हुँदै आएका छन्।
उहाँको मनोनयनले काठमाडौं विश्वविद्यालयको शैक्षिक नीति निर्माण र प्राज्ञिक गुणस्तर अभिवृद्धिमा महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ।



























