बन्दीपुरमा एकीकृत विशेषज्ञ स्वास्थ्य शिविर सम्पन्न

बन्दीपुर गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालयको आयोजनामा चालू आर्थिक वर्ष २०८२/०८३ को नीति तथा वार्षिक बजेट कार्यक्रमअन्तर्गत स्वास्थ्यतर्फको एकीकृत विशेषज्ञ स्वास्थ्य शिविर आज सफलतापूर्वक सम्पन्न भएको छ।
विशिष्टकृत स्वास्थ्य सेवा एकैपटक र एकै स्थानमा उपलब्ध गराई सेवामा नागरिकको पहुँच अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको उक्त शिविर सिर्जनाचोक भेट्रान्स क्लब, भरतपुर चितवनको समन्वयमा तथा कलेज अफ मेडिकल साइन्सेस (CMS), भरतपुर चितवनका विशेषज्ञ चिकित्सक तथा प्राविधिक सहयोगमा सञ्चालन गरिएको हो।
शिविरको समापन कार्यक्रम बन्दीपुर गाउँपालिका अध्यक्ष सुरेन्द्र बहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत, बन्दीपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट, सिर्जनाचोक भेट्रान्स क्लबका अध्यक्ष, कलेज अफ मेडिकल साइन्सेसका विशेषज्ञ चिकित्सकहरू, स्वास्थ्य संस्थाका कर्मचारी, महिला स्वास्थ्य स्वयंसेविका तथा विभिन्न सरोकारवालाहरूको उपस्थिति रहेको थियो।
शिविरमार्फत स्त्री तथा प्रसूति रोग, नशा तथा हाडजोर्नी, यौन तथा छाला रोग, मानसिक रोग, बाल रोग, दन्त रोग, इन्टर्नल मेडिसिन (जनरल फिजिसियन) सम्बन्धी विशेषज्ञ सेवा प्रदान गरिएको थियो। साथै रेडियोलोजिस्टद्वारा भिडियो एक्स–रे सेवा, ईसीजी तथा ब्लड सुगर परीक्षण, साथै आवश्यक औषधि निःशुल्क वितरण गरिएको थियो।
शिविरमा कुल ३१४ जनाले स्वास्थ्य सेवा लिएका थिए, जसमा २२२ जना शिविरमार्फत तथा ९२ जना बन्दीपुर अस्पतालका नियमित सेवाग्राही रहेका छन्। साथै बन्दीपुर गाउँपालिकाका विभिन्न स्थानबाट सेवाग्राहीहरूका लागि बन्दीपुर अस्पतालको वार्षिक कार्यक्रमअनुसार निःशुल्क बस सेवा समेत उपलब्ध गराइएको थियो।

शिविर सञ्चालन तथा सफलतामा सहयोग पुर्याउने सम्पूर्ण सरोकारवालाप्रति बन्दीपुर गाउँपालिकाले धन्यवाद व्यक्त गरेको छ।


























