समृद्ध तनहुँ निर्माणका लागि २१ फागुन निर्णायक : कांग्रेस उम्मेदवार गोविन्द भट्टराई
तनहुँ — नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले समृद्ध र समुन्नत तनहुँ निर्माण आफ्नो प्रमुख लक्ष्य रहेको बताएका छन्। तनहुँ–१ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार भट्टराईले तनहुँसँग अथाहा सम्भावना रहेकाले अब ती सम्भावनालाई परिणाममुखी रूपमा रुपान्तरण गर्न आवश्यक रहेको उल्लेख गरे।
आगामी २१ फागुनमा हुने निर्वाचनलाई परिवर्तनको निर्णायक बिन्दुका रूपमा चित्रण गर्दै उनले यही निर्वाचनबाट तनहुँको भविष्य तय हुने बताए। “तनहुँको माटोमा जन्मिएर यहीँ हुर्किएको नाताले यहाँको विकास र समृद्धि मेरो सपना हो,” उनले भने।
भट्टराईले तनहुँका बुवाआमा, दाजुभाइ, दिदीबहिनी तथा बालबालिकाको मुहारमा हाँसो ल्याउने प्रतिबद्धता व्यक्त गर्दै संसदमा तनहुँको आवाज सशक्त र हस्तक्षेपकारी रूपमा उठाउने दाबी गरे। साथै, भावी पुस्ताको उज्ज्वल भविष्य निर्माणमा आफू जिम्मेवार भूमिका निर्वाह गर्ने बताए।

उनले रुख चिन्हमा मतदान गर्न आग्रह गर्दै आफूलाई मत दिएर पछुताउन नपर्ने दाबी गरे। उल्लेखनीय छ, भट्टराई गत निर्वाचनमा तनहुँ–१ बाट रास्वपा उम्मेदवार स्वर्णिम वाग्लेसँग पराजित भएका थिए।


























