राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको नतिजा सार्वजनिक ,तनहुँमा भानु प्रथम, म्याग्दे दोस्रो

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको नतिजा सार्वजनिक ,तनहुँमा भानु प्रथम, म्याग्दे दोस्रो


तनहुँ, फागुन १ — राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आर्थिक वर्ष २०८१/०८२ का लागि देशभरका स्थानीय तहको कार्यसम्पादन मूल्यांकन नतिजा सार्वजनिक गरेको छ। बिहीबार सार्वजनिक नतिजाअनुसार तनहुँका १० स्थानीय तहमध्ये भानु नगरपालिका प्रथम बनेको छ।
आयोगका अनुसार भानु नगरपालिकाले ६६.६१ अंक प्राप्त गरेको छ भने म्याग्दे गाउँपालिका ६६.५४ अंकसहित दोस्रो स्थानमा रहेको छ।
त्यसैगरी आबुखैरेनी गाउँपालिकाले ६२.१०, भिमाद नगरपालिकाले ५८.२४, ऋषिङ गाउँपालिकाले ५६.९५, बन्दीपुर गाउँपालिकाले ५६.१२ र शुक्लागण्डकी नगरपालिकाले ५४.८० अंक प्राप्त गरेका छन्।
यसैगरी देवघाट गाउँपालिका ५३.७८ अंकसहित आठौं, घिरिङ गाउँपालिका ५२.८७ अंकसहित नवौं स्थानमा रहेका छन्। व्यास नगरपालिकाले सबैभन्दा कम ४८.३८ अंक प्राप्त गरेको आयोगले जनाएको छ।
व्यास नगरपालिकाका लेखा अधिकृत अर्जुन बरालका अनुसार निर्दिष्ट दुई शीर्षकअन्तर्गतको १० अंक नजोडिएकाले आवश्यक कागजातसहित आयोगमा पुनर्मूल्यांकनका लागि परिपत्र गरिएको छ। ती अंक समावेश भएमा व्यास नगरपालिकाको कुल अंक ५८.३८ पुग्ने दाबी गरिएको छ।


आयोगले स्थानीय तहको मूल्यांकन १७ सूचकका आधारमा गरेको जनाएको छ। सूचकमा १० असारभित्र बजेट सार्वजनिक गरे/नगरेको, असार मसान्तभित्र बजेट पारित गरे/नगरेको, घरजग्गा रजिस्ट्रेसन शुल्क, मनोरञ्जन कर तथा विज्ञापन करबापत उठेको रकममध्ये ४० प्रतिशत प्रदेश सञ्चित कोषमा मासिक दाखिला गरे/नगरेको लगायत विषय समावेश छन्।
यसैगरी आगामी आर्थिक वर्षको बजेट प्रक्षेपणसहित विवरण अर्थ मन्त्रालयमा पेश गरे/नगरेको, बजेट समीक्षा कात्तिक मसान्तभित्र सार्वजनिक गरे/नगरेको, राजस्व परिचालन, बजेट खर्चको अवस्था, बेरुजु, सूत्र सफ्टवेयर प्रयोग, विद्यार्थी भर्ना दर, कक्षा ९ मा टिकाउ दर, गर्भ जाँच गराउने महिला अनुपात, एसईई नतिजा तथा पूर्ण खोप लगाएका बालबालिकाको अनुपातलाई पनि मूल्यांकनका आधार बनाइएको आयोगले जनाएको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page