जेन – जी पुस्ता मन्जिल रानाको चुनावी अभियानमा लागेपछि स्वर्णिमलाइ चुनाैती थपिँदै

जेन – जी पुस्ता मन्जिल रानाको चुनावी अभियानमा लागेपछि स्वर्णिमलाइ चुनाैती थपिँदै

तनहुँ क्षेत्र नं १ को चुनावी माहोल दिनप्रतिदिन तातेको छ। यही परिवेशमा उज्यालो नेपाल पार्टीका तर्फबाट उम्मेदवारी दिएका युवा नेता मन्जिल रानाले आफ्नो प्रचारप्रसारलाई असाधारण रूपमा तीव्र बनाएका छन्। प्रत्यक्ष भेटघाट, घरदैलो र युवा परिचालनलाई मुख्य रणनीति बनाएका रानाको अभियान अहिले जिल्लाभर चर्चाको विषय बनेको छ।
आज मात्रै उनका समर्थक टोलीहरू आवुखैरेनी, व्यास नगरपालिका र देवघाट लगायतका क्षेत्रमा समानान्तर रूपमा परिचालित भएका छन्। फरक–फरक समूह बनाएर एकैसाथ घरदैलो अभियान सञ्चालन गर्दा प्रचार व्यापक र प्रभावकारी बनेको स्थानीय कार्यकर्ता कृष्ण राना बताउँछन्।

मन्जिल रानाको प्रचार रणनीतिमा युवाहरू अग्रपंक्तिमा देखिएका छन्। प्रत्येक टोलमा ४–५ वटा समूह बनाएर घरघरमा पुग्ने योजना कार्यान्वयन गरिएको छ। विशेषगरी जेन–जी पुस्ताका युवाहरूले व्यक्ति–व्यक्तिसँग प्रत्यक्ष संवाद गर्दै पार्टीका एजेन्डा, विकास योजना र प्रतिबद्धता बुझाउने काम गरिरहेका रानाले बताए ।
डिजिटल युगका युवा स्वयं घरदैलोमा सक्रिय हुनु अभियानको विशेषता बनेको छ। सामाजिक सञ्जालमार्फत सन्देश प्रवाहसँगै प्रत्यक्ष संवादलाई प्राथमिकता दिँदा मतदातासँग भावनात्मक सम्बन्ध बलियो बन्दै गएको देखिन्छ।

तनहुँको चुनावी प्रतिस्पर्धामा युवामत निर्णायक हुने अनुमान गरिएको छ। यसअघि युवामुखी समर्थन प्राप्त गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार स्वर्णिम वाग्ले यही क्षेत्रमा मैदानमा छन्। तर पछिल्ला दिनमा मन्जिल रानाको अभियानमा युवा पुस्ताको आकर्षण बढ्दै जाँदा मत विभाजनको सम्भावनाबारे चर्चा सुरु भएको छ।
राजनीतिक विश्लेषकहरूका अनुसार, यदि युवा मत दुईतर्फ बाँडियो भने प्रतिस्पर्धा अझ रोचक र अप्रत्याशित बन्न सक्छ। विशेषगरी जमीन तहमा गरिएको सक्रियता र ऊर्जावान अभियानले अन्तिम परिणाममा प्रभाव पार्न सक्छ।
प्रत्यक्ष भेटघाट र निरन्तर संवादले रानाको अभियानलाई थप सशक्त बनाएको छ। युवाहरूको उल्लेखनीय सहभागिताले अभियानमा ऊर्जा र गतिशीलता थपिएको देखिन्छ। स्थानीय स्तरमा संगठन सुदृढ गर्दै अघि बढिरहेको यो शैलीले मतदातासँग नजिकिने प्रयासलाई बल पुर्‍याएको छ।
चुनाव नजिकिँदै जाँदा मन्जिल रानाको प्रचारप्रसार झन् सशक्त बन्दै जाने संकेत देखिएको छ। युवापुस्ताको उत्साह र सक्रिय सहभागिताले उनलाई “लाेकप्रिय युवा नेता”का रूपमा स्थापित गर्ने आधार तयार गरिरहेको समर्थकहरूको दाबी छ।


अब सबैको ध्यान मतदाताको अन्तिम निर्णयतर्फ केन्द्रित भएको छ—जहाँ युवामत नै निर्णायक बन्न सक्ने आँकलन गरिएको छ। यस्तो भएमा रास्वपा उम्मेदवार वाग्लेलाई झड्का लाग्न सक्ने देखिन्छ । यही क्षेत्रमा काङ्ग्रेसबाट गाेविन्द भट्टराई र एमाले बाट भगवती न्याैपाने तथा नेपाली कम्युनिस्ट पार्टी बाट बिद्या ढकाल चुनावी प्रतिस्पर्धामा छन् ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page