ऋषिङमा दोस्रो राष्ट्रिय मौलिक कौराहा सम्मेलन बैशाख ४ र ५ गते हुने
तनहुँ । नेपाल मगर सांस्कृतिक संघ, केन्द्रीय समितिको आयोजनामा कौराहाको उद्गम थलो ऋषिङ गाउँपालिकामा दोस्रो राष्ट्रिय मौलिक कौराहा सम्मेलन आयोजना हुने भएको छ ।
राष्ट्रिय मौलिक कौराहा संरक्षण समिति नेपाल र नेपाल मगर संघ जिल्ला समन्वय समिति तनहुँको सह–आयोजनामा, नेपाल मगर सांस्कृतिक संघ गण्डकी प्रदेश, नेपाल मगर संघ तनहुँ–काठमाण्डौ सम्पर्क समिति तथा नेपाल मगर सांस्कृतिक संघ जिल्ला कार्यसमिति तनहुँको व्यवस्थापनमा सम्मेलन सञ्चालन गर्न लागिएको जानकारी शनिबार दमौलीमा आयोजित पत्रकार सम्मेलनमार्फत दिइएको हो ।
कार्यक्रम संयोजक पदम थापा मगरका अनुसार मगर समुदायमा प्रचलित मौलिक नृत्यमध्ये कौराहा एक महत्वपूर्ण सांस्कृतिक सम्पदा हो। समयसँगै यस्ता मौलिक संस्कृतिहरू लोप हुने खतरा बढ्दै गएकाले यसको संरक्षण, प्रवर्द्धन र नयाँ पुस्तामा हस्तान्तरण आवश्यक ठानी सम्मेलन आयोजना गर्न लागिएको उनले बताए।
आगामी २०८३ वैशाख ४ र ५ गते ऋषिङ–१, झापुटारमा हुने सम्मेलनमा तनहुँ, कास्की, चितवन, पाल्पा, नवलपुर लगायत देशभरका करिब ३० समूहको सहभागिता रहने अपेक्षा गरिएको छ। कार्यक्रममा मगर संघका नेता सिद्धान्त थापा मगरले मगर समुदायको सांस्कृतिक पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने, कौराहासम्बन्धी अध्ययन–अनुसन्धान तथा अनुभव आदान–प्रदान गर्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको बताए। सहभागी समूहहरूले मौलिक कौराहामात्र प्रस्तुत गर्ने जनाइएको छ।
विज्ञ समितिका संयोजक यामबहादुर आलेले कौराहाको मौलिकता संरक्षण सम्मेलनको मुख्य उद्देश्य रहेको उल्लेख गर्दै यसले कौराहालाई विश्वस्तरमा चिनाउन र स्थानीय पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउने विश्वास व्यक्त गरे। उनका अनुसार मगर समुदायको पहिचानसँग जोडिएको कौराहाको दस्तावेजीकरण गर्दै अगाडि बढिनेछ।
कार्यक्रममा २२ भन्दा बढी मगर विज्ञद्वारा कार्यपत्र प्रस्तुत गरिने र सहभागीलाई विषयगत जिज्ञासा समाधानका लागि दोहोरो संवादको व्यवस्था समेत गरिने आयोजकले जनाएको छ।
नेपाल मगर सांस्कृतिक संघ, केन्द्रीय समितिका अध्यक्ष नन्द घर्ती मगरको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा नेपाल मगर संघ तनहुँका अध्यक्ष हर्कबहादुर थापा मगरले स्वागत मन्तव्य व्यक्त गरेका थिए।

यसअघि पहिलो राष्ट्रिय मौलिक कौराहा सम्मेलन २०७३ जेठ १४ र १५ गते तनहुँको दमौलीमा सम्पन्न भएको थियो।


























