दमौलीमा राष्ट्र सेवक कर्मचारीका लागि १० दिने योग तथा तनाव व्यवस्थापन शिविर सम्पन्न

तनहुँ, दमौली — कर्मचारी मिलन केन्द्र तथा आधिकारिक ट्रेड युनियन तनहुँको आयोजना र पतञ्जली योग समिति तनहुँको प्राविधिक सहयोगमा राष्ट्र सेवक कर्मचारीहरूका लागि सञ्चालन गरिएको १० दिने निःशुल्क योग तथा तनाव व्यवस्थापन शिविर सफलतापूर्वक सम्पन्न भएको छ।
मिति २०८२ चैत १७ गतेदेखि २६ गतेसम्म सञ्चालन गरिएको उक्त शिविरमा कर्मचारीहरूको उत्साहजनक सहभागिता रहेको आयोजकले जनाएको छ। दैनिक रूपमा सञ्चालन गरिएको योग अभ्यास, ध्यान तथा विभिन्न तनाव व्यवस्थापन सम्बन्धी प्रशिक्षणले सहभागीहरूलाई शारीरिक तथा मानसिक रूपमा सकारात्मक प्रभाव पारेको सहभागीहरूको अनुभव रहेको छ।
शिविरमा सहभागी कर्मचारीहरूले योग अभ्यासमार्फत स्वास्थ्य सुधार हुनुका साथै मनोबल वृद्धि र सकारात्मक सोचको विकास भएको बताएका छन्। उनीहरूले यस किसिमका कार्यक्रमले कार्यक्षमता अभिवृद्धि गर्न समेत सहयोग पुगेको धारणा व्यक्त गरेका छन्।

शिविर सफलतापूर्वक सञ्चालन गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको पतञ्जली योग समिति तनहुँप्रति सहभागी राष्ट्र सेवक कर्मचारीहरूले हार्दिक धन्यवाद तथा आभार व्यक्त गरेका छन्। साथै, आगामी दिनहरूमा पनि यस्ता कार्यक्रमहरू निरन्तर सञ्चालन गरिनुपर्ने आवश्यकता औंल्याएका छन्।


























