बेलबास नजिकै नदी दोहनप्रति स्थानीयको आक्रोश, बस्ती जोखिममा

बेलबास नजिकै नदी दोहनप्रति स्थानीयको आक्रोश, बस्ती जोखिममा


तनहुँ — तनहुँ हाइड्रोपावर कम्पनीले नदीको धार परिवर्तन हुने गरी मेसिन प्रयोग गरेर नदीजन्य पदार्थ उत्खनन गरेको भन्दै बेलबास क्षेत्रका स्थानीयवासी आक्रोशित बनेका छन्।
स्थानीयका अनुसार उक्त गतिविधिका कारण बेलबास आसपासका करिब २०० घरपरिवार तथा दुई वटा विद्यालय बाढीको उच्च जोखिममा परेका छन्। यसअघि नै आफ्नो माग पूरा गर्न चरणबद्ध आन्दोलनमा रहेका स्थानीयले यस्तो संवेदनशील अवस्थामा पुनः उत्खनन गर्नु गम्भीर विषय भएको बताएका छन्।
एडीबी (ADB) को रिपोर्टमा समेत सो क्षेत्रमा गरिएको उत्खननले थप समस्या निम्त्याउन सक्ने उल्लेख गरिएकामा हाल पुनः मेसिन प्रयोग गरी नदी दोहन गर्नु गैरजिम्मेवारपूर्ण कदम भएको बेलबास डुबान सरोकार समितिका उपाध्यक्ष बलराम तिवारीले बताए।
स्थानीयवासीले जोखिमपूर्ण अवस्था हुँदाहुँदै पनि उत्खनन जारी राखिएकोप्रति गम्भीर असन्तुष्टि जनाउँदै तत्काल रोक्न माग गरेका छन्।
स्थानीय मेघनाथ आचार्यले आक्रोश व्यक्त गर्दै भने, “नदीको धार परिवर्तनका कारण ठूलो बस्ती र विद्यालय जोखिममा छन्। यस्तो अवस्थामा पनि पुनः उत्खनन गर्नुको उद्देश्य के हो?”
स्थानीयहरूले सम्बन्धित निकायले समयमै ध्यान नदिए कडा आन्दोलनमा उत्रिने चेतावनी दिएका छन्। दीर्घकालीन क्षति हुन सक्ने भन्दै उनीहरूले तत्काल आवश्यक कदम चाल्न सम्बन्धित पक्षलाई आग्रह गरेका छन्।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page