चैतेधान खेतीको अनुगमन र कृषि सामग्री हस्तान्तरण, लक्ष्यभन्दा दोब्बर क्षेत्रफलमा खेती विस्तार

तनहुँ, १७ वैशाख — चैते धान उत्पादन प्रवर्द्धन कार्यक्रमअन्तर्गत तनहुँका दुई स्थानीय तहमा व्यावसायिक चैतेधान खेतीको स्थलगत अनुगमन तथा किसानलाई कृषि सामग्री हस्तान्तरण गरिएको छ।
कृषि विकास कार्यालय तनहुँको आयोजनामा व्यास नगरपालिका र म्याग्दे गाउँपालिकामा गरिएको कार्यक्रममा खेत अवलोकनसँगै किसानलाई अनुदानमा बीउ, उपकरण तथा सिंचाइ संरचना हस्तान्तरण गरिएको हो।
कार्यक्रममा तनहुँ क्षेत्र नं. २ (क) का सांसद श्यामराजा महत, वरिष्ठ कृषि विकास अधिकृत परशुराम अधिकारी, सम्बन्धित वडाका जनप्रतिनिधि, जिसस सदस्य डोलबहादुर सुनार तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो।
अवलोकनपछि सांसद महतले कृषि प्रधान देशलाई आत्मनिर्भर बनाउन आधुनिक प्रविधि र यान्त्रिकीकरण अपरिहार्य रहेको बताए। उनले कृषिमा लगानी बढाउन आफूले बजेट विनियोजनमा सक्रिय भूमिका खेलेको उल्लेख गरे।
आर्थिक वर्ष २०८२/०८३ अन्तर्गत व्यास नगरपालिका–५ स्थित युगबोध कृषि सहकारी संस्थामार्फत करिब ९ लाख ५० हजार रुपैयाँ बराबरका सामग्री वितरण गरिएको संस्थाका अध्यक्ष चिरञ्जीवि पण्डितले जानकारी दिए। उनका अनुसार ७५ प्रतिशत अनुदानमा ९०० केजी चैते धानको बीउ, तीन वटा कम्बाइन मिल, ४० वटा त्रिपाल र एक डिजिटल तराजु प्रदान गरिएको छ। साथै ८५ प्रतिशत अनुदानमा २३१ मिटर लामो कुलो निर्माण सम्पन्न भएको छ।
म्याग्दे गाउँपालिका–३ स्थित आम्बोटे कृषक समूहले ७५ प्रतिशत अनुदानमा २०० केजी बीउ, एक कम्बाइन मिल, दुई मिनी टिलर र २५ वटा त्रिपाल प्राप्त गरेको समूहका अध्यक्ष बलराम भट्टराईले बताए। उक्त समूहले ८५ प्रतिशत अनुदानमा १६७ मिटर कुलो निर्माण गरी कुल ५ लाख ६२ हजार रुपैयाँ बराबरको सहयोग पाएको छ।
त्यसैगरी, स्यागेटारी साना किसान कृषक समूहले ८५ प्रतिशत अनुदानमा २३१ मिटर कुलो निर्माण र ७५ प्रतिशत अनुदानमा मिनी टिलर, त्रिपाल तथा ५० केजी बीउ प्राप्त गरी करिब ५ लाख ६२ हजार रुपैयाँ बराबरको अनुदान उपयोग गरेको सचिव मिनराज घिमिरेले जानकारी दिए।
म्याग्दे–४ स्थित चण्डेश्वरी फलफूल तथा तरकारी उत्पादक समूहले ५० प्रतिशत अनुदानमा तरकारी बीउ, सिंचाइ ड्रम, मिनी टिलर, स्प्रेयर, मल्चिङ प्लास्टिक लगायत सामग्री गरी ३ लाख ४० हजार ८ सय रुपैयाँ बराबरको सहयोग पाएको समूहकी अध्यक्ष जीतमाया रानाले बताइन्।

यस आर्थिक वर्षमा १,९०० रोपनी क्षेत्रफलमा चैतेधान खेती गर्ने लक्ष्य राखिएकोमा ३,८०० रोपनीमा खेती गरिएको कृषि विकास कार्यालयले जनाएको छ। लक्ष्यभन्दा दोब्बर क्षेत्रफलमा खेती विस्तार भएको र आगामी वर्षमा समेत विस्तार हुने अपेक्षा गरिएको छ।
वरिष्ठ कृषि विकास अधिकृत परशुराम अधिकारीले अनुदान कार्यक्रमका कारण किसानहरू कृषिमा आकर्षित भएको र उत्पादन वृद्धि तथा आत्मनिर्भरता हासिल गर्न टेवा पुगेको बताए।


























