विश्व श्रमिक दिवसमा घाइते चालक गुरुङलाई व्यास भुमिकाे खाद्यान्न सहयोग

विश्व श्रमिक दिवसमा घाइते चालक गुरुङलाई व्यास भुमिकाे खाद्यान्न सहयोग


तनहुँ, वैशाख १८ — १३७औँ अन्तर्राष्ट्रिय विश्व श्रमिक दिवसको अवसर पारेर तनहुँको आबुखैरेनी गाउँपालिका–१ सत्रसयमा घाइते सवारी चालकलाई खाद्यान्न सहयोग गरिएको छ। तनहुँ व्यास भूमि यातायात प्रालिले आफ्ना सवारी चालक सरोज गुरुङलाई चामल, तेल लगायतका अत्यावश्यक खाद्यान्न सामग्री हस्तान्तरण गरेको हो।
गुरुङ २०८२ साल भदौ महिनामा भएको सवारी दुर्घटनामा परी ढाड र खुट्टामा गम्भीर चोट लागेपछि हालसम्म पूर्ण रूपमा निको हुन सकेका छैनन्। लामो समयदेखि उपचारपछि पनि उनी घरमै आराम गरिरहेका छन्। परिवारको मुख्य आम्दानीको स्रोत उनी नै रहेकाले दुर्घटनापछि आर्थिक अवस्था कमजोर बन्दै गएको र दैनिक जीवनयापनमा समेत समस्या भइरहेको अवस्थामा व्यास भुमिले सहयोग गरेको समिति अध्यक्ष बसन्त जिसीले बताए ।
यस्तै कठिन परिस्थितिलाई मध्यनजर गर्दै श्रमिक दिवसको सन्दर्भमा सहयोग गरिएको हाे अध्यक्ष बसन्त जिसीले भने। “कमाउने व्यक्ति नै घाइते भएपछि परिवारलाई ठूलो समस्या परेको छ, यस्तो अवस्थामा थोरै भए पनि राहत पुग्ने उद्देश्यले खाद्यान्न सहयोग गरेका हौं,” उनले भने।
सहयोग हस्तान्तरण कार्यक्रममा कार्यालय प्रमुख श्रीभद्र कडेल, प्रबन्ध निर्देशक बसन्त बहादुर अधिकारी, सञ्चालक सदस्य सरोज ढकाल लगायतको उपस्थिति रहेको थियो। सहयोग कार्यक्रममा कार्यालय प्रमुख कंडेलले संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता मानवीय कार्यलाई निरन्तरता दिँदै आएको उल्लेख गरे। “हामीले व्यवसायसँगै सामाजिक उत्तरदायित्वलाई पनि उत्तिकै प्राथमिकता दिएका छौं, आवश्यक परेका बेला आफ्ना श्रमिक तथा समुदायलाई साथ दिनु हाम्रो दायित्व हो,” उनले बताए।
प्रालिका प्रबन्ध निर्देशक अधिकारीले पनि श्रमिकहरूको योगदानको कदर गर्दै उनीहरूको दुःख–सुखमा साथ दिनु संस्थाको कर्तव्य भएको बताए। उनले आगामी दिनमा पनि यस्ता सहयोगात्मक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।

उक्त सहयोग कार्यक्रमले घाइते गुरुङको परिवारलाई केही राहत मिल्ने विश्वास लिइएको छ। साथै, श्रमिक दिवसको अवसरमा गरिएको यस्तो कार्यले श्रमिकप्रति सम्मान र सहकार्यको भावना अझ बलियो बनाउने अपेक्षा गरिएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page