रत्नहरि मेमोरियल अस्पताल र तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार इकाईबीच स्वास्थ्य सम्झौता

रत्नहरि मेमोरियल अस्पताल र तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार इकाईबीच स्वास्थ्य सम्झौता


दमौली, वैशाख २७ ।
व्यवसायी तथा उनीहरूका परिवारलाई सहुलियतपूर्ण स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले श्री रत्नहरि मेमोरियल अस्पताल प्रा.लि. र तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार इकाईबीच स्वास्थ्य सेवासम्बन्धी सहकार्य तथा सम्झौता कार्यक्रम सम्पन्न भएको छ।
रत्नहरि मेमोरियल अस्पताल दमौलीका अध्यक्ष तारा प्रसाद श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार इकाईका सभापति शेषराज श्रेष्ठको विशेष उपस्थिति रहेको थियो।
सम्झौताअनुसार तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार इकाईमा आबद्ध सदस्य तथा उनीहरूका परिवारले रत्नहरि मेमोरियल अस्पतालमा उपचार गराउँदा उपचार खर्चमा १० प्रतिशत, अपरेशन खर्चमा २५ प्रतिशत तथा औषधिमा ५ प्रतिशत छुट पाउने भएका छन्।
सम्झौतापत्रमा अस्पतालका तर्फबाट अध्यक्ष तारा प्रसाद श्रेष्ठ र व्यवस्थापक लिलबहादुर थापाले हस्ताक्षर गर्नुभएको थियो भने उद्योग वाणिज्य संघका तर्फबाट सभापति शेषराज श्रेष्ठ र उपसभापति नारायण मल्लले हस्ताक्षर गर्नुभएको थियो। उक्त सहकार्य तथा सम्झौताका लागि विशेष पहल उपसभापति नारायण मल्लले गर्नुभएको जनाइएको छ।


कार्यक्रममा इकाईका सभापति शेषराज श्रेष्ठले व्यवसायी तथा सर्वसाधारणको स्वास्थ्य सुरक्षाका लागि यस्ता सहकार्य प्रभावकारी हुने धारणा व्यक्त गर्नुभयो। त्यसैगरी अस्पतालका अध्यक्ष तारा प्रसाद श्रेष्ठले गुणस्तरीय, सहज र सर्वसुलभ स्वास्थ्य सेवा प्रदान गर्न अस्पताल प्रतिबद्ध रहेको बताउनुभयो।
बैठकमा व्यवसायीहरू तथा उनीहरूका परिवारलाई विशेष छुटसहित स्वास्थ्य सेवा उपलब्ध गराउने विषयमा विस्तृत छलफल गरिएको थियो। अस्पतालले विभिन्न स्वास्थ्य परीक्षण, उपचार तथा सेवामा निश्चित प्रतिशत छुट उपलब्ध गराउने निर्णय गरिएको इकाईका उपसभापति नारायण मल्लले जानकारी दिनुभयो।
कार्यक्रममा इकाईका उपसभापति नारायण मल्ल, सचिव सिमरन चन्द, सह–सचिव ठाकुर प्रसाद पौडेल, कोषाध्यक्ष तारा प्रसाद श्रेष्ठ लगायत व्यवसायीहरूको उपस्थिति रहेको थियो। त्यसैगरी अस्पतालका तर्फबाट लिलबहादुर थापा, कृष्णा श्रेष्ठ लगायतको सहभागिता रहेको थियो।
बैठकमा सहभागी सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूले व्यवसायी र उनीहरूका परिवारलाई सहज तथा सहुलियतपूर्ण स्वास्थ्य सेवा उपलब्ध गराउने कार्यलाई सकारात्मक कदमका रूपमा लिँदै आगामी दिनमा सहकार्यलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page