तनहुँमा अवैध सालको काठसहित दुई पक्राउ
तनहुँ, जेठ ७ — तनहुँको म्याग्दे गाउँपालिका–३ कामिटारबाट प्रहरीले अवैध साल जातको काठसहित दुई जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार शुक्रबार दिउँसो करिब २:३० बजेको समयमा गोप्य सूचनाका आधारमा प्रहरी चौकी थर्पुबाट खटिएको प्रहरी टोलीले स्थानीय ४५ वर्षीय चेत बहादुर चदारो र ३८ वर्षीय मिलन चदारोको घरछेउमा खानतलासी गरेको थियो।
खानतलासीका क्रममा लुकाइछिपाइ राखिएको अवैध साल जातको चिरान तथा गोलिया काठ गरी जम्मा ७५.०७ क्युबिक फिट काठ बरामद गरिएको प्रहरीले जनाएको छ।
प्रहरीले बरामद काठ र पक्राउ परेका दुवै जनालाई आवश्यक कारबाहीका लागि वन डिभिजन कार्यालय तनहुँ पठाइएको जनाएको छ।
जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी निरीक्षक दिपक कुमार कार्कीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।




























