छोटो समयमै ठूलो पहिचान बनाउन सफल ‘द नाइन्टिज’ युवा क्लब, बरबोटेमा भलिबल प्रतियोगिताले साँगेलाई चिनायो

छोटो समयमै ठूलो पहिचान बनाउन सफल ‘द नाइन्टिज’ युवा क्लब, बरबोटेमा भलिबल प्रतियोगिताले साँगेलाई चिनायो


दमौली । व्यास नगरपालिका–५ बरबोटे साँगेमा हालै दर्ता भएको ‘द नाइन्टिज’ युवा क्लबले छोटो समयमै खेलकुदमार्फत उल्लेखनीय पहिचान बनाउन सफल भएको छ। क्लबले आयोजना गरेको खुल्ला वडा स्तरीय प्रथम ‘द नाइन्टिज’ पुरुष भलिबल प्रतियोगिताले बरबोटे साँगेलाई जिल्लाबाहिरसम्म चिनाउन महत्वपूर्ण भूमिका खेलेको स्थानीयले बताएका छन्।
प्रतियोगितामा तनहुँसँगै नवलपुर, कास्की र लमजुङबाट गरी ३२ टोली सहभागी भएका छन्। दर्जनौं खेलाडी र सयौं दर्शकको उपस्थितिले साँगे क्षेत्र यतिबेला खेलमय बनेको छ। नयाँ क्लबले छोटो समयमै यति ठूलो प्रतियोगिता आयोजना गरेर युवाको सक्रियता र सामूहिक प्रयासको उदाहरण प्रस्तुत गरेको भन्दै स्थानीयले प्रशंसा गरेका छन्।
प्रतियोगिताअन्तर्गत पहिलो चरणका खेलहरू शुक्रबार सम्पन्न भएका छन्। पहिलो खेलमा द नाइन्टिज युवा क्लब बरबोटे साँगेले आदर्श युवा क्लब पतेनीलाई हराउँदै विजयी सुरुवात गरेको छ। ग्वासलुङ रिसिङ गाउँपालिका–२, वेनीकोट व्यास–१३ ‘ए’, बार्हबिसे युवा क्लब व्यास–६, भिमाद–२ जिलाङ र एनएसपिके रिसिङ गाउँपालिका–३ लगायतका टोलीले पनि जित निकाल्दै अर्को चरणमा स्थान बनाएका छन्।
क्लबका अध्यक्ष एककुमार श्रेष्ठका अनुसार बाँकी खेलहरू शनिबार पनि जारी रहनेछन्। प्रतियोगिताको विजेताले नगद रु. ३३ हजार ३३३, उपविजेताले रु. २२ हजार २२२ र तृतीय हुने टोलीले रु. ११ हजार १११ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।
प्रतियोगिताको प्रथम पुरस्कार व्यास–५ बरबोटेका तथा हाल दक्षिण कोरियामा रहेका आनन्द लामिछानेले, दोस्रो पुरस्कार केम्यान आइल्यान्ड्समा रहेका अमृत गैरेले र तृतीय पुरस्कार साउदी अरेबियामा रहेका आशिक श्रेष्ठले प्रायोजन गरेका हुन्।


खेलकुदमार्फत गाउँलाई जोड्ने र चिनाउने उद्देश्यसहित अघि बढेको द नाइन्टिज युवा क्लबले छोटो समयमै देखाएको सक्रियताले बरबोटे साँगेमा नयाँ उत्साह थपेको छ। स्थानीयका अनुसार प्रतियोगिताले खेलाडी मात्रै होइन, गाउँको परिचय, आपसी सद्भाव र युवा एकतालाई पनि थप मजबुत बनाएको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page