केशवटार सडक कालोपत्रेका लागि १५ करोड बजेट ! स्थानीयमा खुसी
तनहुँको व्यास नगरपालिका–१४ केशवटार तथा बन्दीपुर गाउँपालिका–३ र ६ का बासिन्दाका लागि खुसीको खबर आएको छ। लामो समयदेखि स्तरोन्नतिको पर्खाइमा रहेको केशवटार–सुखौरा–चिसापानी पुल सडक खण्ड कालोपत्रेका लागि केन्द्र सरकारले १५ करोड रुपैयाँ बजेट विनियोजन गरेको जानकारी सार्वजनिक भएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तनहुँका सभापति विश्व बास्तोला ले सामाजिक सञ्जाल फेसबुकमार्फत उक्त जानकारी दिएका हुन्। विनियोजित बजेटबाट केशवटार हुँदै सुखौरा चिसापानी पुलसम्मको सडक पक्की निर्माण सम्पन्न गर्न सकिने अपेक्षा गरिएको छ।
उक्त सडक क्षेत्रका स्थानीयको लामो समयदेखिको प्रमुख आवश्यकता भए पनि विभिन्न कारणले निर्माण कार्य अघि बढ्न सकेको थिएन। सडक कालोपत्रे भएपछि व्यास–१४ सहित बन्दीपुरका विभिन्न बस्तीका नागरिकलाई आवतजावत, कृषि उपज ढुवानी तथा स्थानीय आर्थिक गतिविधिमा सहजता पुग्ने विश्वास गरिएको छ।

तनहुँ–१ बाट निर्वाचित अर्थमन्त्री स्वर्णिम वाग्ले ले प्रस्तुत गरेको बजेटमार्फत यस क्षेत्रको बहुप्रतीक्षित सडक योजनाले प्राथमिकता पाएको भन्दै स्थानीयवासीले स्वागत गरेका छन्।




























