तनहुँमा मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सञ्चारकर्मीसँग अभिमुखीकरण
दमौली, जेठ २८ — डिभिजन वन कार्यालय तनहुँले मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन तथा वन्यजन्तु उद्धार सम्बन्धी सञ्चारकर्मीसँग अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ।
बिहीबार आयोजित कार्यक्रममा डिभिजनल वन अधिकृत मनोज रानाभाटले मानव–वन्यजन्तु द्वन्द्वका कारण, अवस्था तथा व्यवस्थापनका उपायबारे प्रस्तुति दिएका थिए। उनका अनुसार गण्डकी प्रदेशमा सबैभन्दा धेरै सामुदायिक वन तनहुँ जिल्लामा रहेका छन् भने जिल्लाभित्र आठ वटा सब–डिभिजन वन कार्यालय सञ्चालनमा छन्। मानिस र वन्यजन्तुको आवश्यकता, गतिविधि तथा हित एकअर्कासँग जुध्दा मानव–वन्यजन्तु द्वन्द्व सिर्जना हुने उनले बताए।
डिभिजन वन कार्यालयको तथ्यांकअनुसार तनहुँमा वन्यजन्तुको आक्रमणबाट हालसम्म १७ जनाको मृत्यु, २१ जना घाइते तथा ३८ वटा घटना भएका छन्। तीमध्ये ३२ वटा घटना चितुवाको आक्रमणसँग सम्बन्धित छन्। सबैभन्दा बढी घटना आर्थिक वर्ष २०७६/०७७ मा भएको रानाभाटले जानकारी दिए।
उनका अनुसार चितुवाको आक्रमण प्रायः साँझ ५ बजेदेखि ८ बजेसम्म हुने गरेको छ। घरआँगनमा खेलिरहेका बालबालिका बढी जोखिममा पर्ने गरेका छन्। विशेषगरी ६ देखि १० वर्ष उमेर समूहका बालबालिकामाथि आक्रमणका घटना बढी देखिएको तथ्यांकले देखाएको छ। चितुवाले आफूभन्दा साना आकारका जीवलाई आक्रमण गर्ने प्रवृत्ति रहने पनि उनले बताए।
कार्यक्रममा मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण, वन्यजन्तु उद्धार तथा जनचेतना अभिवृद्धिमा सञ्चार माध्यमको भूमिकाबारे समेत छलफल गरिएको थियो। रानाभाटले जनचेतना अभिवृद्धि, समुदाय र सरोकारवालाबीच पुलको भूमिका निर्वाह, जिम्मेवार सञ्चार तथा संकट व्यवस्थापन, संरक्षण शिक्षा प्रवर्द्धन, अनुसन्धान तथा खोजमूलक पत्रकारिता र सही सूचना सही समयमा सही समुदायसम्म पुर्याउन सके मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा महत्वपूर्ण योगदान पुग्ने बताए।
उनले आगामी दिनमा वन्यजन्तुको बासस्थान तथा आहार व्यवस्थापन, कृषि बाली संरक्षण, मानव व्यवहारमा सुधार, समुदायमा आधारित व्यवस्थापन, वैज्ञानिक तथा दीर्घकालीन उपायको अवलम्बन तथा सरकारी एवं संस्थागत पहलमार्फत मानव–वन्यजन्तु द्वन्द्व कम गर्न सकिने धारणा राखे।

कार्यक्रममा नेपाल पत्रकार महासंघ तनहुँ शाखाका अध्यक्ष डीपी अधिकारी लगायत जिल्लाका सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो। कार्यक्रमको प्रारम्भमा वन अधिकृत राजकुमार श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने सहजीकरण बन अधिकृत अरूण पराजुलीले गरेका थिए ।।






























