म्याग्दे साहित्य तथा कला मेला सम्पन्न

तनहुँ । म्याग्दे साहित्य समाजको आयोजनामा म्याग्दे साहित्य , संस्कृति तथा कला मेला–२०८३ सम्पन्न भएको छ। म्याग्दे गाउँपालिका–३ बेलटारस्थित गणेश आमम समूहको भवनमा आयोजित मेलामा साहित्यिक, सांस्कृतिक तथा शैक्षिक गतिविधिहरू सञ्चालन गरिएका थिए।
मेलाको अवसरमा माध्यमिक विद्यालयस्तरीय निबन्ध लेखन प्रतियोगिता, साहित्य वाचन, कविता वाचन, सांस्कृतिक प्रस्तुति तथा स्थानीय मौलिक भजन कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा स्थानीय स्रष्टा, साहित्यप्रेमी तथा विभिन्न विद्यालयका विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो।

कार्यक्रमको उद्घाटन म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले गर्नुभएको थियो। म्याग्दे साहित्य समाजका अध्यक्ष नारायण प्रसाद खनालको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष बालकृष्ण घिमिरे लगायत साहित्यकार तथा सामाजिक व्यक्तित्वहरूले साहित्य, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा यस्ता कार्यक्रमको महत्वबारे धारणा राख्नुभएको थियो।
स्थानीय प्रतिभाको पहिचान र प्रोत्साहन गर्दै साहित्य तथा कलाको विकास गर्ने उद्देश्यले आयोजना गरिएको मेलाले स्रष्टा र समुदायबीचको सम्बन्धलाई थप मजबुत बनाएको आयोजकले जनाएको छ।

म्याग्दे साहित्य समाजका अध्यक्ष नारायण प्रसाद खनालले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण व्यक्ति तथा संस्थाप्रति आभार व्यक्त गर्नुभएको छ।


























