मुग्लिन–पोखरा राजमार्ग सुधार आयोजनासम्बन्धी दुईदिने कार्यशाला सम्पन्न

मुग्लिन–पोखरा राजमार्ग सुधार आयोजनासम्बन्धी दुईदिने कार्यशाला सम्पन्न


बन्दीपुर, असार १३ – मुग्लिन–पोखरा राजमार्ग सुधार आयोजना अन्तर्गत सामाजिक सचेतना तथा जीविकोपार्जन सहयोग कार्यक्रमअन्तर्गत “मानव विकासका लागि पूर्वाधार विकास : चुनौती, अवसर र स्थानीय तहको भूमिका” विषयक दुईदिने कार्यशाला सम्पन्न भएको छ।
सहयात्री समाज नेपाल–सिड्स जेभीको आयोजनामा असार १२ र १३ गते सञ्चालन भएको कार्यशालाको समापन समारोहका प्रमुख अतिथि व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले पूर्वाधार विकाससँगै सामाजिक विकास, जनचेतना र स्थानीय तहको सक्रिय भूमिकालाई सँगसँगै अघि बढाउनुपर्नेमा जोड दिए। उनले आयोजना सम्पन्न भएपछि पनि स्थानीय सरकार आफैंले यस्ता सचेतनामूलक तथा संरक्षणका कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताए।
दुई दिनसम्म सञ्चालन भएको कार्यशालामा सरकार तथा विकास साझेदारद्वारा सञ्चालित एचआईभी/एड्स सचेतना, मानव बेचबिखन नियन्त्रण, जीविकोपार्जन सहयोग तथा संरक्षणसम्बन्धी कार्यक्रमबाट प्राप्त सिकाइ, उत्कृष्ट अभ्यास र ज्ञान सामग्रीलाई अभिलेखीकरण, प्रसार तथा संस्थागत गर्ने विषयमा छलफल गरिएको थियो।
कार्यशालाले आयोजना अवधि समाप्तिपछि पनि स्थानीय सरकार, नगरपालिका, स्वास्थ्य संस्था तथा सम्बन्धित निकायले आफ्नै योजना, स्रोत र नेतृत्वमा संरक्षण तथा सचेतनामूलक कार्यक्रमलाई दिगो रूपमा सञ्चालन गर्नुपर्ने निष्कर्ष निकालेको आयोजकले जनाएको छ।


समापन कार्यक्रममा व्यास नगरपालिकाकी उपप्रमुख इन्दिरा दरै, प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्साल, कार्यक्रम निर्देशक राधिका सापकोटा, जनप्रतिनिधि, कर्मचारी, उद्योग वाणिज्य संघका प्रतिनिधि, पत्रकार तथा अन्य सरोकारवालाहरूको सहभागिता रहेको थियो।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page