म्याग्दे गाउँपालिकाको २०औँ गाउँसभा सम्पन्न. ७४ करोड ३२ लाखको बजेट सर्वसम्मतिले पारित
तनहुँ, असार – म्याग्दे गाउँपालिकाको २०औँ गाउँसभाको तेस्रो बैठक सोमबार सम्पन्न भएको छ। गाउँसभाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि रु. ७४ करोड ३२ लाख ७८ हजार बराबरको बजेट, नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित गरेको हो।
गाउँपालिका अध्यक्ष श्रीप्रसाद श्रेष्ठको अध्यक्षतामा सम्पन्न गाउँसभामा उपाध्यक्ष बालकृष्ण घिमिरे, प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद अधिकारी, वडा अध्यक्षहरू, गाउँसभा सदस्यहरू, कार्यपालिका सदस्य, कर्मचारी तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो।
गाउँसभाले उपाध्यक्ष बालकृष्ण घिमिरेले गत असार ८ गतेको दोस्रो बैठकमा प्रस्तुत गरेको बजेट सर्वसम्मत रूपमा पारित गरेको हो। पारित बजेटमध्ये चालुतर्फ रु. ४७ करोड ९३ लाख र पुँजीगततर्फ रु. २६ करोड ३९ लाख विनियोजन गरिएको छ।
बजेटका स्रोतअन्तर्गत संघीय सरकारको वित्तीय समानीकरण अनुदानबाट रु. ९ करोड ९२ लाख, सशर्त अनुदानबाट रु. ३९ लाख, चालु अनुदानबाट रु. १८ करोड, राजस्व बाँडफाँडबाट रु. ८ करोड ७७ लाख, गण्डकी प्रदेशको वित्तीय समानीकरण अनुदानबाट रु. १ करोड २१ लाख, प्रदेश राजस्व बाँडफाँडबाट रु. ९० लाख, सडक बोर्डबाट रु. २३ लाख, आन्तरिक आयबाट रु. १५ करोड, संघीय समपूरक अनुदानबाट रु. ७० लाख, संघीय विशेष अनुदानबाट रु. ४० लाख, सामाजिक सुरक्षा भत्ताबापत रु. १३ करोड, प्रदेश समपूरक अनुदानबाट रु. ६० लाख, प्रदेश विशेष अनुदानबाट रु. ४० लाख तथा नागरिक साझेदारी कार्यक्रमबाट रु. २ करोड प्राप्त हुने अनुमान गरिएको छ।
वडागत बजेट विनियोजनअन्तर्गत वडा नं. १ मा रु. ५० लाख ७५ हजार, वडा नं. २ मा रु. ५५ लाख ३१ हजार, वडा नं. ३ मा रु. ४५ लाख, वडा नं. ४ मा रु. ५० लाख ४७ हजार, वडा नं. ५ मा रु. ४६ लाख, वडा नं. ६ मा रु. ५१ लाख तथा वडा नं. ७ मा रु. ५० लाख बजेट विनियोजन गरिएको छ।
गाउँसभामा शिक्षा, स्वास्थ्य, कृषि, पशुपालन, पूर्वाधार विकास, खानेपानी, पर्यटन, युवा तथा खेलकुद, महिला सशक्तीकरण, सामाजिक सुरक्षा, वातावरण संरक्षण तथा सुशासनलाई प्राथमिकतामा राख्दै नीति तथा कार्यक्रम पारित गरिएको छ।
अध्यक्ष श्रीप्रसाद श्रेष्ठले गाउँसभाबाट पारित बजेट तथा योजनालाई पारदर्शी, प्रभावकारी र परिणाममुखी ढंगले कार्यान्वयन गरी नागरिकले प्रत्यक्ष अनुभूति गर्ने विकासमा गाउँपालिका केन्द्रित रहने बताए। उपाध्यक्ष बालकृष्ण घिमिरेले जनप्रतिनिधि, कर्मचारी र स्थानीयवासीबीचको सहकार्यबाट विकासका लक्ष्य हासिल गरिने विश्वास व्यक्त गरे।
प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद अधिकारीले गाउँसभाबाट पारित नीति, कार्यक्रम तथा बजेट समयमै कार्यान्वयन गर्न प्रशासनिक संयन्त्र पूर्ण रूपमा प्रतिबद्ध रहेको बताए।

गाउँसभाले आगामी आर्थिक वर्षका सबै एजेन्डा, नीति तथा कार्यक्रम र बजेट सर्वसम्मतिले पारित गर्दै २०औँ गाउँसभा सफलतापूर्वक सम्पन्न भएको गाउँपालिकाले जनाएको छ।



























