भिमादमा पाँचदिने जीवन उपयोगी सीप तालिम सम्पन्न

भिमादमा पाँचदिने जीवन उपयोगी सीप तालिम सम्पन्न


भिमाद, असार – रूम टु रिड र सूर्योदय क्लबको प्राविधिक सहयोग, भिमाद नगरपालिकाको आर्थिक सहयोग तथा भिमाद नगरपालिका, शुक्लागण्डकी नगरपालिका, म्याग्दे गाउँपालिका, व्यास नगरपालिका, भानु नगरपालिका र ऋषिङ गाउँपालिकाको समन्वयमा कक्षा ६ मा जीवन उपयोगी सीप शिक्षालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने उद्देश्यले शिक्षकहरूका लागि पाँचदिने जीवन उपयोगी सीप सहजीकरण तालिम सम्पन्न भएको छ।
भिमाद नगरपालिकाको सभाहलमा आयोजित तालिममा सहभागी शिक्षकहरूलाई जीवन उपयोगी सीप, लैङ्गिक समानता, बालअधिकार, सहभागितामूलक शिक्षण विधि तथा व्यवहारिक शिक्षासम्बन्धी १३ वटा सत्रमार्फत प्रशिक्षण दिइएको थियो। तालिममा विभिन्न स्थानीय तहका विद्यालयका कक्षा ६ मा अध्यापन गराउने शिक्षक–शिक्षिकाहरू सहभागी थिए।
समापन कार्यक्रममा नगरप्रमुख दधिराज सुवेदीले तालिमबाट प्राप्त ज्ञान र सीपलाई कक्षाकोठामा प्रभावकारी रूपमा प्रयोग गर्दै शिक्षालाई व्यवहारिक, सीपमूलक र जीवनोपयोगी बनाउन आग्रह गर्नुभयो। उहाँले स्थानीय तह, विद्यालय व्यवस्थापन र शिक्षकबीचको सहकार्यबाट गुणस्तरीय शिक्षामा सकारात्मक परिवर्तन आउने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रममा उपप्रमुख शारदा खनाल, स्रोत व्यक्ति केशवराज वाग्ले, शिक्षा तथा खेलकुद शाखा प्रमुख सन्दीप पौडेललगायतको उपस्थिति रहेको थियो। कार्यक्रममा रूम टु रिड र सूर्योदय क्लबका कार्यक्रम अधिकृत नित्यानन्द पाण्डे, रमेश श्रेष्ठ, वीरेन्द्र थापा, लक्ष्मी नेपाल, सुनिता देवी श्रेष्ठ र कलावती बिमलीले विभिन्न विषयमा सहजीकरण गर्नुभएको थियो।


आयोजकले स्थानीय तहको नेतृत्व, शिक्षा शाखाहरूको सहयोग तथा शिक्षकहरूको सक्रिय सहभागिताप्रति आभार व्यक्त गर्दै जीवन उपयोगी सीप शिक्षाको विस्तारमा यो पहल महत्वपूर्ण उपलब्धि भएको जनाएको छ। सहभागी शिक्षकहरूले तालिमबाट प्राप्त ज्ञान र अनुभवलाई विद्यालयमा प्रभावकारी रूपमा कार्यान्वयन गरी विद्यार्थीहरूको व्यवहारिक सिकाइ र समग्र विकासमा उपयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page