मानुङमा गंगानगर दुग्ध सहकारीको वार्षिक योजना तर्जुमा गोष्ठी सुरु, दमाैली ,पोखरामा विस्तार गर्ने लक्ष्य

तनहुँ, असार २०। श्री गंगानगर दुग्ध उत्पादक सहकारी संस्था लिमिटेड को आर्थिक वर्ष २०८३/८४ को वार्षिक योजना तर्जुमा गोष्ठी तनहुँको मानुङमा सनिबारदेखि सुरु भएको छ। दुई दिनसम्म सञ्चालन हुने गोष्ठीमा संस्थाको आगामी वार्षिक कार्यक्रम, बजेट, नीति तथा दीर्घकालीन विकास रणनीतिबारे छलफल भइरहेको छ।
संस्थाका अध्यक्ष कृष्णप्रसाद सापकोटा को अध्यक्षतामा सुरु भएको कार्यक्रममा लेखा संयोजक नवराज ढकाल, संस्थापक अध्यक्ष ऋषिराम घिमिरे, पूर्व व्यवस्थापक रामप्रसाद सापकोटा तथा पूर्व अध्यक्ष माधव पौडेल ले शुभकामना मन्तव्य व्यक्त गर्दै सहकारीलाई अझ सुदृढ, व्यवस्थित र सदस्यमुखी बनाउँदै अघि बढाउनुपर्नेमा जोड दिएका थिए।
यस्तै, शिक्षा समितिका संयोजक बासुदेव सापकोटा, सल्लाहकार समिति सदस्य हरिकृष्ण सुवेदी र कुमारप्रसाद थपलिया ले पनि शुभकामना व्यक्त गरेका थिए। कार्यक्रममा सुमित्रा अधिकारी ले स्वागत मन्तव्य राखेकी थिइन् भने सञ्चालन संस्थाका व्यवस्थापक रोमहर्ष साखि ले गरेका थिए।
गोष्ठीमा संस्थाको वर्षभरिका कार्यक्रमको खाका तयार गर्ने, समूहगत छलफलमार्फत योजना संकलन गर्ने, सहकारीको विनियम, कार्यविधि तथा संस्थागत सुशासनका विषयमा विस्तृत छलफल भइरहेको अध्यक्ष कृष्णप्रसाद सापकोटाले जानकारी दिए। उनका अनुसार सदस्यको आय वृद्धि, गुणस्तरीय दुग्ध उत्पादन, बजार व्यवस्थापन र सहकारीको दीगो विकासलाई केन्द्रमा राखेर आगामी योजना तयार गरिनेछ।
वि.सं. २०४९ सालमा स्थापना भएको गंगानगर दुग्ध उत्पादक सहकारी संस्था चितवनको अग्रणी दुग्ध सहकारीमध्ये एक मानिन्छ। संस्थाले उत्पादन गरेको दूध तथा दुग्धजन्य सामग्रीहरू दुध , दही , घिउ ,पनिर , खुवा , माेही , नाैनि लगायत हाल चितवनसँगै नवलपरासी , नवलपुर , लमजुङ , गोरखा र तनहुँको बन्दीपुर क्षेत्रसम्म बजार विस्तार गरिसकेको छ।
अब दमौली, मानुङ , खैरेनीटार दुलेगौंडा हुँदै पोखरा बजारसम्म दुग्ध तथा दुग्धजन्य सामग्रीको पहुँच विस्तार गर्ने लक्ष्यका साथ संस्थाले योजना अघि बढाएको जनाएको छ। यही उद्देश्यलाई मध्यनजर गर्दै पर्यटकीय तथा ऐतिहासिक स्थल मानुङमा गोष्ठी आयोजना गरिएको संस्थाको भनाइ छ। गोष्ठीले वार्षिक योजना निर्माणसँगै नयाँ बजार प्रवर्द्धन र संस्थाको प्रचारप्रसारमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ।

सहकारीका सहव्यवस्थापक घनश्याम दवाडीका अनुसार नेपालमा पहिलोपटक माेही ब्रान्ड गर्नुपर्छ र बजारमा लानुपर्छ भन्ने याेजना ल्याउने गंगा सहकारी नैँ हाे ।


























