जग्गीया बनाउने समी लिन रूखमा चढ्दा करेन्ट लागेका कार्की खतरामुक्त
तनहुँको व्यास नगरपालिका-१ अमरापुरीस्थित बुल्दी खोला पुल नजिक रहेको रुखमा करेन्ट लागेर एक जना घाइते भएका छन् । घाइते हुनेमा व्यास नगरपालिका-२ का भीमबहादुर कार्की रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

भाइकाे छाेराकाे बिवाहलाई जग्गीया तथा गेट बनाउन रुखमा समी काट्न चढेका उनलाई एक्कासी करेन्ट लागेको थियो । घाइते कार्कीलाई तत्कालै जेसिबीकाे माध्यमबाट उद्धार गरी दमाैली अस्पताल पुर्याइएको र पछि पाेखरा पठाइएको प्रहरीले जनाएको छ ।

भिजेको रूखमा हाइटेन्सन लाइनले छुँदा करेन्ट लागि अचेत अवस्थामा रूखमै ढलेका उनलाई स्थानीय र प्रहरीले उद्धारमा सहयोग पुर्याएका थिए । घाइते कार्कीकाे पाेखराकाे जिएमसी अस्पतालमा उपचार भइरहेको र उनको अवस्था खतरामुक्त रहेको आफन्तले बताएका छन् ।






























