ज्वारभाटा उकेल्छन्
मन्दाक्रान्ता छन्द
अचम, अभिनव व्यास
म्याग्दे, तनहुँ,

भ्रष्टाचारी सहज कुचिने पेलिने मारिने छन्
सच्चा योद्धा रणकुशल यी युद्धमा खारिने छन्
लाखापाखा सब किसिमका भ्रष्ट लाग्छन् डराई
भोग्छन् पक्कै कुनियत लिने स्याल गिद्दे मराई ।

हुन्छन् पक्कै पनि समयमा मारिने राष्ट्रघाती
थुक्छन् गोद्छन् जन सब मिली बेतुकी पक्षपाती
लिन्छन् बाटो युवक गतिला कर्ममा अग्रगामी
गुण्डा ब्वाँसो सरह भँडुवा साथ हुन्नन् मलामी ।
मान्छे जम्मै जड प्रकृतिका गर्न नेतृत्व खोज्ने
मास्ने हुन्छन् जनबल मिली ठाम खाल्टो छ कोच्ने
घन्कन्छन् झन् तुमुल ध्वनिमा राष्ट्र नेपाल गान
नेता नौला प्रकटित हुनन् झ्याङ्गिने स्वाभिमान ।
डाँका गुण्डा थरहर हुनन् तस्करी ठोक्छ टाप
ब्वाँसा जस्ता कपट कटुता गर्न थाल्छन् विलाप
स्रष्टा द्रष्टा कुशल मतिका गर्न नेतृत्व आई
दिन्छन् शोभा अनुकरणमा विश्वमा झल्मलाई ।
आस्था आगो सरह अब जो ज्वारभाटा उकेल्छन्
भ्रष्टाचारी यस मुलुकका शीघ्र टाढा धकेल्छन्
सच्चा मान्छे वरपर लिई लाग्न थाल्छन् उकालो
भ्रष्टाचारी लुरुलुरु लुकी हाम फाल्छन् भिरालो ।
हाक्काहाक्की सबसित भिडी ज्ञान विज्ञान ढोका
खोल्छन् स्रष्टा अचम सजिलै राष्ट्रले खान्न ढोका
देखी लुक्छन् थरहर हुँदै राष्ट्रघाती हरामी
पार्छन् स्रष्टा यस मुलुकका भ्रष्ट सारा खरानी ।
भोगेका छन् सब किसिमका कष्टका रापताप
पार्छन् पक्कै मुलुक भरका दुष्ट यिन्ले सखाप
भ्रष्टाचारी दमित छ हुने राष्ट्रको जो खराब
जो जो पार्छन् खतम नतिजा प्रष्ट धोक्दै शराब ।
























