शक्तिको आडमा तनहुँका ४ सरकारी कार्यालय निमित्तले चलाउँदै , वनका प्रमुख अधिकारी विरूद्ध अदालतमा मुद्दा !
गण्डकी प्रदेशअन्तर्गत तनहुँ जिल्लामा ४ वटा सरकारी कार्यालय निमित्त प्रमुखका भरमा चल्दै आएको छ । कार्यालय प्रमुख नहुँदा विगत लामो समयदेखि डिभिजन वन कार्यालय, पूर्वाधार विकास कार्यालय, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र र स्वास्थ्य कार्यालय निमित्त प्रमुखका भरमा चल्दै आएको हो ।
यी कार्यालयमा पहुँच तथा सत्ता र सक्तिकाे आडमा निमित्तले कार्यालय चलाइरहेको श्राेतले बतायो । खासगरी जिल्ला वन कार्यालयमा शरद अधिकारी , पुर्वाधारमा रविन्द्र तिवारीले राजनीतिक पहुँचका आडमा प्रमुखमा हालिमुहाली गरिरहेका छन् ।

यद्यपि स्वास्थ्य कार्यलयकाे हकमा भने अवस्था फरक रहेको छ । स्वास्थ्यका प्रमुख सरुवा भएर अधिकारी निमित्त भएको नभइ कार्यालयमा सिनियर कर्मचारी भएको आधारले मन्त्रालयले निमित्त प्रमुख ताेकेकाे हाे । यस सम्बन्धमा प्रमुख अधिकारीले स्वास्थ्य कार्यालयकाे प्रमुख पढ्नकाे लागि बिदामा जानुभएको र तलव यहीँबाट खाने तथा दरबन्दी खाली पनि नभएको अवस्थामा सिनियर कर्मचारीकाे आधारमा जिम्मेवारी पाएको बताए ।

यता बन कार्यालयका अधिकारीकाे यही बिषय अहिले अदालतमा समेत पुगेको छ । नेताको पहुँचका आधारमा याेग्यता नपुगेको मान्छेलाई निमित्तकाे जिम्मेवारी गण्डकी प्रदेश सरकारको प्रमुख सचिवस्तरीय निर्णयबाट भएको भन्दै कार्यालयकै कर्मचारी बाट उजुरी परेपछि यसको थप खुलासा र पुष्टि भएको हाे ।
डिभिजन वन कार्यालय तनहुँमा योग्यता नपुगेको व्यक्तिलाई निमित्त कार्यालय प्रमुख बनाइएकाे भन्दै उच्च अदालत पोखरामा अन्तरिम आदेशसहितको उत्प्रेषणयुक्त परमादेश जारी गरी पाउँ भन्दै प्रदेशका वन तथा वातावरण मन्त्रालयकै वरिष्ठ वन अधिकृत पुर्णेश्वर सुवेदीले रिट हालेपछी मन्त्रालय देखि कार्यालय सम्म यसको हल्लाखल्ला भएको छ ।
कार्तिक १२ गते डिभिजन वन कार्यालय, तनहुँमा कार्यरत आठौं तहका वन अधिकृत शरद कुमार अधिकारीलाई कार्यालय प्रमुख हाजिर नभएसम्मको लागि आर्थिक तथा प्रशासनिक अधिकारसहितको निमित्त कार्यालय प्रमुखका रुपमा कामकाज गर्ने गरी जिम्मेवारी तोकिएको थियो । साेही विषय अहिले जटिल र पेचिलाे बन्दै गएको छ ।
























