फागुन २१ गतेदेखि हुने डुम्रे महाेत्सवमा पशु तथा कृषि क्षेत्रका स्टल निशुल्क पाइने !

फागुन २१ गतेदेखि हुने डुम्रे महाेत्सवमा पशु तथा कृषि क्षेत्रका स्टल निशुल्क पाइने !

तनहुँको डुम्रेमा फागुन २१ गतेदेखि चैत ३ गतेसम्म हुने डुम्रे महाेत्सवमा स्टल बनाउने काम ७० प्रतिशत पूरा भएको छ । महाेत्सवमा १ सय २५ वटा स्टल बनाइएकोमा सबै प्याक भएर व्यवसायीहरूबाट थप माग भए पछि अहिले २५ वटा स्टल थप गरिएको स्टल संयाेजक राम जाेशीले बताए ।

जाेशीका अनुसार थप भएको २५ सहित सबै स्टल बुक भइसकेको छ । त्यसमध्ये ११ वटा स्टल कृषि र दुईवटा स्टल पशु अन्तर्गत बाख्रालाई निशुल्क दिन छुट्याइएको छ । महाेत्सवमा आउने दर्शकलाई ध्यानमा राखी बाख्राकाे चिज निशुल्क रूपमा खान पाउने व्यवस्था मिलाइएको छ । यस्तै कृषककाे उत्पादनलाई प्राथमिकता दिँदै तरकारीका स्टल निशुल्क राखिएको छ । महाेत्सवमा आउनेले लाेकल तरकारी लिएर जान सक्नेछन् ।

“व्यापारिक, सांस्कृतिक, पर्यटकीय विकासको नारा, डुम्रे महोत्सवको अभिभारा” भन्ने मुख्य नारा सहित यही फागुन २१ गतेदेखि चैत ३ गतेसम्म हुने महोत्सव भानु नगरपालिका वडा नं १ काे पुल्चोकमा हुने महाेत्सवका प्रवक्ता सुवाेध अधिकारीले बताए । स्टल सँगै महाेत्सवकाे तयारी अन्तिम चरणमा पुगेको अधिकारीले जानकारी दिए ।

तनहुँ उद्योग वाणिज्य संघ, डुम्रे बजार इकाइको आयोजनामा हुने महोत्सवले यस क्षेत्रका आर्थिक, सामाजिक, सांस्कृतिक र पर्यटन प्रवर्द्धनमा योगदान पुर्‍याउने उद्देश्य राखिएको छ । तनहुँ उद्योग वाणिज्य संघ डुम्रे बजार इकाईका अध्यक्ष हेमलाल भिकेले महोत्सवले यस क्षेत्रको समग्र विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे । महोत्सवमा स्थानीय उत्पादन, व्यापारिक स्टल, सांस्कृतिक कार्यक्रम, पर्यटकीय गतिविधि र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रस्तुत गरिने आयोजकले जनाएको छ। महोत्सवले क्षेत्रीय पहिचानलाई अझ सुदृढ गर्दै आर्थिक गतिशीलता बढाउने अपेक्षा गरिएको छ।

महोत्सवको तयारीलाई थप प्रभावकारी बनाउन यस अगाडि नैं विभिन्न समिति र उपसमितिहरू गठन गरेर तयारीलाई तिव्रता दिइएको छ । महोत्सवको सफल सञ्चालनका लागि आर्थिक व्यवस्थापन, सांस्कृतिक कार्यक्रम, प्रचार(प्रसार, सुरक्षा, र सञ्चालन समिति लगायतका उपसमितिहरू गठन गरी जिम्मेवारी तोकिएको हाे ।

व्यवसायी, सरोकारवाला निकाय स्थानीयवासीहरूको सहयोगमा महोत्सवलाई भव्य बनाउनका लागि तयारी तीव्र रूपमा भइरहेको आयोजकले जनाएको छ । यस्तै डुम्रे इकाईका सचिव महेन्द्र शाहीले चिठी , निमन्त्रणा काे काम सकिएको र सचिवालयले दैनिक रूपमा काम गरिरहेकाे जानकारी दिए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page