आँबुखैरेनीमा घर–घरमा प्रहरी अभियान
इलाका प्रहरी कार्यालय आँबुखैरेनीले घर–घरमा नेपाल प्रहरीको सम्पर्क विवरण, क्यूआर कोड तथा सेवा उपयोग गर्ने तरिका उल्लेख गरिएको स्टिकर टाँस्ने अभियान शुभारम्भ गरेकाे छ । समुदायमा शान्ति सुरक्षा सम्बन्धी अवस्था बुझ्नुका साथै आम सर्वसाधारणसँग प्रत्यक्ष रूपमा सम्पर्क स्थापना गरी प्रहरी प्रतिको धारणा, गुनासो र सुझावहरू संकलन गर्न याे अभियान चलाइएको हाे ।

कार्यक्रममा प्रमुख अतिथि आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमान , इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक टेक प्रसाद सुवेदी, वडा नं. ३ का अध्यक्ष दिनेश के.सी., वडा सदस्य मनोज कुमार श्रेष्ठ, स्थानीय बुद्धिजीवी, समुदायका अगुवा तथा सर्वसाधारणको सक्रिय सहभागिता रहेको थियो ।

प्रत्येक घरमा टाँसिने स्टिकरमा उल्लेख गरिएको क्यूआर कोड स्क्यान गरी नागरिकहरूले प्रहरी सेवासँग सजिलै सम्पर्क गर्न सक्नेछन्, साथै आफ्ना गुनासा तथा सुझावहरू समेत सहज रूपमा पठाउन सक्नेछन् ।
समुदाय र प्रहरी बीचको विश्वास र सहकार्यको सुदृढीकरणका लागि उजागर गरीएको यो कदमलाई सफल बनाउन सबैको साथ र सहयोगकाे अपेक्षा आँबुखैरेनी प्रहरीले गरेको छ ।
























