आँबुखैरेनी गाउँपालिका पूर्ण खोप पालिका घोषणा
जिल्लाको आँबुखैरेनी गाउँपालिकालाई पूर्ण खोप पालिका घोषणा गरिएको छ । गाउँपालिका मातहत रहेका ६ वटा वडाका आठ वटा स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीबाट आठ सय छयालीस घरधुरीका ५९ महिनासम्मका बालबालिकाहरुलाई १५ महिनासम्म पूर्ण खोप लगाई सकेपछि गाउँपालिकालाई पूर्ण खोप घोषणा गरिएको हो । गाउँपालिका अध्यक्ष शुक्र चुमानले एक कार्यक्रमका बीच पूर्ण खोप सुनिश्चितता र दिगोपन पालिका घोषणा गरेका हुन् ।

बालबालिकाहरुका लागि खोप नैसर्गिक अधिकार भएकाले सबैलाई पूर्ण खोप लगाउन आग्रह गरिएको चुमानले बताए । उक्त कार्य सफल बनाउन स्वास्थ्यकर्मी,जनप्रतिनिधी र गाउँबासीले खेलेको भूमिका अतुलनीय रहेको उनकाे भनाइ छ ।

उक्त कार्यक्रममा वडाध्यक्षसहितका जनप्रतिनिधी,सर्वसाधारण लगायतको उपस्थिति रहेको थियो । गाउँपालिकाभित्र पूर्ण खोप लगाएको,नलगाएको घरधुरी सर्वेक्षण गरी तीन जना बालबालिकाहरुले खोप पूरा नगरेको पाइएको स्वास्थ्य शाखाका प्रमुख अगमराज उपाध्यायले जानकारी दिए ।
छुट भएका उनीहरुलाई बैशाख २४ गते पूर्ण खोप लगाई बैशाख ३० गतेसम्म ६ वटै वडालाई पूर्ण खोप वडा घोषण गरिएकोमा आज गाउँपालिकालाई नै पूर्ण खोप पालिका घोषणा गरिएको स्वास्थ्य शाखाका प्रमुख उपाध्यायले बताए ।
























