देवघाटमा बाख्रा पालन तालिम !
तनहुँकाे देवघाटमा बाख्रा पालन तालिम भएको छ ।राष्ट्रपति महिला उत्थान जिविकोपार्जन सुधार कार्यक्रम अन्तर्गत चक्रवर्ती सामाजिक उद्यमी महिला सहकारी संस्थाको आयोजना तथा देवघाट गाउँपालिकाको आर्थिक सहयोगमा बिहिवारबाट देवघाट वडा नम्बर-५,सीता सामुदायिक वनको भवनमा ५ दिने बाख्रा पालन तालिम भएको हो।कार्यक्रममा सम्बोधन गर्दै प्रमुख अतिथि देवघाट गाउँपालिका अध्यक्ष तिलबहादुर थापाले बाख्रा पालनबाट जीविकोपार्जनमा टेवा पुगोस् भन्ने उद्देश्यले पालिका भित्र रहेका एकल महिला,बढिपिडित लगायतका परिवारलाई गाउँपालिकाले बजेट विनियोजन गरेर ५ दिने अभिमुखीकरण तालिम आयाेजना गरेको बताए । यस किसिमका कार्यक्रम फस्टाउँदै गए अझै यस्ता कार्यक्रमलाई प्राथमिकता दिइने समेत अध्यक्ष थापाले बताए ।

कार्यक्रममा विशिष्ट अतिथि गाउँपालिका उपाध्यक्ष भुवनसिं गुरुङले आयआर्जनकालागि गरिएको यो कार्यक्रमले एकल महिला तथा बढीपीडित भएका व्यक्तिहरु लाभांवित हुने बताए ।

कार्यक्रममा गाउँपालिका कार्यक्रम शाखा अधिकृत कृष्णराज पन्त,गाउँपालिका पशुपंक्षी शाखा अधिकृत प्रदीप सापकोटा,देवघाट महिला सञ्जालका अध्यक्ष राधादेवी खनाल,सचीव एलिजा अधिकारी लगायतको सहभागिता रहेको थियो भने चक्रवर्ती सामाजिक उद्यमी महिला सहकारी संस्थाका अध्यक्ष सावित्री न्यौपानेको अध्यक्षतामा कार्यक्रम भएको थियो।
























