भिमादका सुत्केरी महिलालाई पाेषण तथा सरसफाइ सामाग्री वितरण
भिमाद नगरपालिका–५ मा रहेका सुत्केरी महिलाहरूलाई पोषण तथा सरसफाई सामग्री वितरण गरिएको छ । गर्भवती, सुत्केरी महिला तथा बालबालिकाको पोषण सुदृढीकरण लक्षित कार्यक्रम अन्तर्गत ऋषिङपाटन आधारभूत स्वास्थ्य सेवा केन्द्रमा १६ जना सुत्केरी महिलाहरूलाई कुखुराको भाले, घ्यू, नुहाउने र लुगा धुने साबुन, सरफ, नङकट, भित्रीवस्त्र, ब्रस , मन्जन लगायत सामग्री वितरण गरिएको हो ।

भिमाद ५ का अध्यक्ष पदम बहादुर थापाले उक्त सामग्रीहरू हस्तान्तरण गर्दै सुत्केरी तथा गर्भवती महिलाले गर्भावस्थामा आराम गर्नुका साथै पोषिलो खानेकुरा सेवन गरेर आफू र नवजात शिशु दुवैलाई स्वस्थ, सुरक्षित र निरोगी राख्न आवश्यक भएको बताए । मातृ तथा शिशु स्वास्थ्यलाई प्राथमिकतामा राख्दै वडा कार्यालयले यस्ता कार्यक्रमलाई निरन्तरता दिने उनकाे भनाइ थियो ।

कार्यक्रममा नियमित रूपमा गर्भ परीक्षण गराउँदै आएका २८ जना गर्भवती महिलाहरू र जन्मेदेखि २३ महिना उमेरसम्मका २० जना शिशुहरूलाई तौल वृद्धि गर्ने उद्देश्यले अण्डा वितरण गरिएको थियो । साथै, पूर्ण खोप प्राप्त गरिसकेका १० जना बालबालिकाहरूलाई काजु, बदाम, किसमिस तथा ओखर वितरण गरिएको र कम तौल भएका ३ जना बालबालिकालाई विशेष रूपमा अण्डा र गेडागुडी वितरण गरिएको बताइएको छ ।
सामग्री प्राप्त गरेका सुत्केरी तथा गर्भवती महिलाहरूले वडा कार्यालयप्रति आभार व्यक्त गर्दै यस्तो सहयोगले आफूहरूलाई थप सहज र आत्मविश्वासी बनाएको प्रतिक्रिया दिएका थिए ।
























