म्याग्दे गाउँपालिका द्धारा विपन्नलाई आवास निर्माण

म्याग्दे गाउँपालिका द्धारा विपन्नलाई आवास निर्माण

तनहुँको म्याग्दे गाउँपालिकाले ४८ जना विपन्न जनताको घर निर्माण गरेर सोमबार हस्तान्तरण गरेको छ । विपन्न नागरिकहरु घर बिहीन नहुन् भनेर सम्बन्धित वडाको सिफारिसको आधारमा घर निर्माण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नारायण प्रसाद अधिकारीले बताए । नवनिर्मित आवासको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ , उपाध्यक्ष बालकृष्ण घिमिरे र प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद अधिकारीले संयुक्त रूपमा प्रमाणपत्र प्रदान गरी हस्तान्तरण गरेका थिए ।

सङ्घीय सरकारको समपूरक कोष र गाउँपालिकाको साझेदारीमा ४८ विपन्नको आवास निर्माण गरी हस्तान्तरण गरिएको प्रमुख अधिकारीले जानकारी दिए । चालु आर्थिक वर्ष २०८०÷८१ को वार्षिक स्वीकृत कार्यक्रम तथा नेपाल सरकारको समपूरक योजना अन्तर्गत आर्थिक विपन्न वर्गलाई नमुना आवास कार्यक्रम अन्तर्गत आवास निर्माण गरिएको हाे प्रमुख प्रशासकीय अधिकृत अधिकारीले बताए ।

अधिकारीका अनुसार आर्थिक वर्ष २०८०÷०८१ को २५ घर आठ लाख र आर्थिक वर्ष २०८१÷०८२ को २३ घर १० लाखको लागतमा टेन्डर प्रक्रियाबाट निर्माण गरिएको हो । सङ्घको समपुरक कोषको ३८ प्रतिशत र गाउँपालिकाको ६२ प्रतिशत लागतमा आवास निर्माण गरिएको हो । परिवार सदस्यमा कोही स्थायी रोजगार तथा दिगो लगानी तथा आयस्रोत नभएको, दोहोरो सुविधा तथा अनुदान नलिएको प्रमाण पेस गर्नुपर्ने प्रावधान राखिएको गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले बताए । घर सफा र चिटिक्क पारेर राख्न घिमिरेले सबैलाई अनुरोध गरे । अपाङ्गता भएका व्यक्ति, असहाय, सिमान्तकृत जाति, अल्पसंङ्ख्यक जाति वा दलित जातिमा सूचीकृत भएकालाई प्राथमिकता दिईएको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले बताए । हामी जनप्रतिनिधिमा निर्वाचित भएपछि ५ वर्ष भित्रमा कम्तीमा ६० वटा घर बनाउछाैं भन्ने प्रतिवद्धता अनुसार अहिलेसम्म ४८ वटा घर बनेको श्रेष्ठले जानकारी दिए । गाउँपालिकाले साँढे ४ करोडकाे लागतमा ७ वटै वडामा घर निर्माण गरेको हाे । उक्त घर दश वर्ष बेच्न , भाडामा लगाउन , धितो राख्न नपाउने गाउँपालिकाले जनाएको छ । घर हस्तान्तरण कार्यक्रममा घर पाउने स्थानीय लक्ष्मण परियारले खुसी हुँदै गाउँपालिकालाइ धन्यवाद दिए । अर्की घर पाउने पशुपति सुनारले केही नभएर बसेकाे मान्छेलाई गाउँपालिकाले घर निर्माण गरिदिएकाे भन्दै गाउँपालिकालाइ जति धन्यवाद दिएपनी कमी हुने बताइन् ।
उक्त अवसरमा गाउँपालिकाका ईन्जिनियर शिव ज्ञवालीले दुई काेठे पक्की भवन निर्माण भएको जानकारी दिए । कार्यक्रममा वडा नं १ का अध्यक्ष एवम् गापा प्रवक्ता मणिभद्र वाग्ले , वडा नं ६ का अध्यक्ष हिरालाल गुरूङ लगायतले बाेलेका थिए ।यस्तै
गाउँपालिकाका अमिन शेषराज पण्डितले कार्यक्रमकाे सहजीकरण गरेका थिए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page