काङ्ग्रेस सरकारमा भए पनि सत्तामा छैन – नेता काेइराला
नेपाली कांग्रेसका नेता शेखर कोइरालाले आफ्नो पार्टी सरकारमा भए पनि सत्तामा नभएको बताएका छन्।
नेपाल प्रजातन्त्र सेनानी संघ तनहुँले आइतबार दमौलीमा आयोजना गरेको प्रजातन्त्र सेनानी आवाज स्मारिका-२०८२ को विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यी दुई कुरा बेग्लै भएको समेत उल्लेख गरे।

‘तपाईंले सामाजिक सञ्जालमा जति न्यूज पढिराख्नु भएको छ, त्यसले के बुझिन्छ भने सरकारमा चाहिँ हामी छौँ,’ कोइरालाले भने, ‘केन्द्रीय सरकारमा पनि छौँ। गण्डकी प्रदेशमा त हाम्रै नेतृत्वमा सरकारमा छ। तर सत्तामा छैनौँ।’ प्रजातन्त्रमा संरचनाहरुले काम गर्ने भन्दै त्यस्ता संरचनामा पनि आफूहरु नरहेको उनले जिकिर गरे। ‘प्रजातन्त्रमा संरचनाहरूले काम गरिरहेको हुन्छ,’ कोइरालाको भनाइ छ, ‘त्यो संरचनामा को–को छन्, हामी देख्दैनौँ प्रजातन्त्रवादीहरू। हामी त्यहाँ बामपन्थीहरु मात्रै देख्छौँ।’ आफूहरू सत्तामा नरहेकै कारण निजामती विधेयक ल्याउन नसकिरहेको उनको भनाइ छ। ‘तपाईंहरुले अर्को विचार गर्नुहोस्, संसद्को राज्यव्यवस्था तथा सुशासन समितिले कुलिङ पिरियड भनेर पास गर्यो,’ कोइराला भन्छन्, ‘तर, प्रधानमन्त्रीको आदेशमा सभामुखजीले त्यसलाई (निजामती विधेयक) लाई एजेन्डामा ल्याइ रहनु भएको छैन। हामी सत्तामा भएको भए हामी ल्याउँथ्यौँ।’ प्रधानमन्त्रीले कसको लागि विधेयक रोकिरहेको भन्दै उनले प्रश्न समेत गरे।

‘नेपाली कांग्रेस, एमालेका सांसदहरू, माओवादीहरू, मधेसका दलका सांसदहरू सबैले एकमतले कुलिङ पिरियड लागू गर्नुपर्छ भनेका छन्,’ कोइरालाले भने, ‘प्रधानमन्त्रीजीको हठ किन? के को लागि? कसको लागि?’नेता कोइरालाले कांग्रेसको महाधिवेशन जति लम्बिँदै जान्छ,त्यति पार्टीलाई बेफाइदा हुने बताएका छन् । पार्टी कार्यालयमा कार्यकर्ता भेटघाटलाई सम्बोधन गर्दै उनले पार्टीको महाधिवेशन निर्धारित मितिमा हुनुपर्ने बताए । पार्टीको महाधिवेशन विसं २०८३ मङ्सिरभित्र हुनुपर्नेमा उनलेे जोड दिएका छन् । ‘म पार्टीको महाधिवेशन निर्धारित मितिमा हुनुपर्छ भन्ने पक्षमा छु, नेपाली कांग्रेसको महाधिवेशन जति लम्बिँदै जान्छ, यसले पार्टीलाई फाइदा गर्दैन ।
























