भानुजयन्तीका अवसरमा आदिकवि भानुभक्त क्याम्पसमा कविता तथा भानुभक्तिय रचना वाचन कार्यक्रम सम्पन्न
२१२औं भानुजयन्तीका अवसरमा आदिकवि भानुभक्त क्याम्पस, व्यास १ विज्ञानचौर, दमौलीमा खुल्ला कविता प्रतियोगिता, भानुभक्तिय रचना वाचन प्रतियोगिता र भानुभक्तीय रचना वाचन सिप कार्यशाला कार्यक्रम शनिबार सम्पन्न भएको छ ।

कार्यक्रमहरूको आयोजना क्याम्पसको नेपाली विभागले गरेको थियो। कार्यक्रमको उद्घाटन गर्दै क्याम्पस सेवा आयोगका अध्यक्ष पूर्व प्राध्यापक डा ईश्वर चन्द्र वाग्लेले भाषा र साहित्यको एकीकरण गरेका आदिकवि भानुभक्त आचार्यको योगदानलाई नयाँ पिढीमा स्मरणीय बनाइराख्नु उनको जन्मजयन्तीको अवसरमा क्याम्पसले आयोजना गरेका कार्यक्रमहरुले टेवा पुग्ने बताए । भाषाको विसर्जन भएको दिनमा पहिचानको पनि विसर्जन हुने बताउँदै भाषा र साहित्यको संरक्षणमा लाग्न वाग्लेले सुझाव दिए । कार्यक्रममा बोल्दै क्याम्पस सञ्चालक समितिका अध्यक्ष बुद्धिमान श्रेष्ठले आदिकवि आचार्यको नामबाट जिल्लामा स्थापित आदिकवि भानुभक्त क्याम्पसले भाषा र साहित्यको प्रवर्धनमा लागि पर्नु जरुरी भएको बताए ।

शनिबार भएको भानुभक्तिय रचना वाचन प्रतियोगितामा आदिकवि भानुभक्त क्याम्पसकी विद्यार्थी पुनम सुनार प्रथम सत्यवती माविकी सगुन पौडेल द्वितीय र आदिकवि भानुभक्त माध्यमिक विद्यालयकि अर्पना तिवारीले तृतीय स्थान हासिल गरेका थिए भने चन्नीदेवी माविका आराध्य पौडेल र सुरक्षा तिमिल्सेना र बाराही माविका अभियान काफ्लेले सान्त्वना पुरस्कार प्राप्त गरेका थिए।
त्यसैगरी खुल्ला कविता प्रतियोगिता तर्फ सत्यवती मावि ममता विक ली प्रथम स्थान आदिकवि भानुभक्त क्याम्पसकी लक्ष्मी लोहनीले द्वितीय स्थान महिना बिकले तृतीय आदिकै भानुभक्त माध्यमिक विद्यालयकी सुस्मिता बयालकोटीले सान्त्वना र चण्डीदेवी माविकी सुरक्षा तिमिल्सिनाले सान्त्वना पुरस्कार जित्न सफल भएका थिए ।
सोही अवसरमा भानुभक्तिय रचना वाचनसिप कार्यशालाको पनि आयोजना गरिएको थियो। कार्यशालामा कविनारायण पोखरेल र आदिकवि भानुभक्त क्याम्पसका सहायक प्राध्यापक नारायणी अधिकारीले भानुभक्तीय रामायणमा प्रयोग भएका छन्दका किसिम छन्दमा प्रयोग हुने लय गति यतिको बारेमा सहजीकरण गरेका थिए ।
प्रतियोगिताको निर्णायक मण्डलका संयोजक एवं क्याम्पसका पूर्व सहप्राध्यापक नारायण गौतम र कवि नारायण पोखरेल रहेका थिए ।
कार्यक्रम नेपाली विभागका प्रमुख डाक्टर सुशील प्रसाद वाग्लेको अध्यक्षतामा भएको थियो। कार्यक्रममा विभागका सदस्य मिना श्रेष्ठले स्वागत र सञ्चालन विभागका सदस्य सहायक प्राध्यापक विष्णु घिमिरेले गरेका थिए ।

























