भानुमा प्रविधिमैत्री तथा व्यावसायिक खेती प्रवर्द्धनका कार्यक्रमहरू सञ्चालन गरिने

कृषिमा रुपान्तरण, आर्थिक विकास र सेवा प्रवाहमा सूचना प्रविधिको प्रयोग” परियोजनाको प्रभावकारी कार्यान्वयनका लागि भानु नगरपालिकामा तोरी, निबुवा (कागती) तथा साग खेतीका लागि उपयुक्त पकेट क्षेत्रहरूको खोज तथा पहिचान कार्य प्रारम्भ गरिएको छ।



यस क्षेत्र पहिचान कार्यमा कृषकसँग प्रत्यक्ष अन्तरक्रिया गर्दै स्थानीय आवश्यकता, चासो तथा उत्पादन सम्भाव्यता समेत समावेश गरिएको छ। पहिचान गरिएका क्षेत्रहरूलाई लक्षित गर्दै प्रविधिमैत्री तथा व्यावसायिक खेती प्रवर्द्धनका कार्यक्रमहरू सञ्चालन गरिने योजना रहेको भानु नगरपालिकाले जनाएको छ।

कार्यक्रमको क्रममा सम्बन्धित वडा कार्यालयहरू, कृषि शाखा तथा सूचना प्रविधि शाखाको समन्वयमा प्राविधिक टोलीले स्थलगत निरीक्षण गर्दै कृषकहरूसँग प्रत्यक्ष संवाद गरिएको थियो। छलफलमा कृषकहरूले प्रविधिको प्रयोगबाट आएको परिवर्तन, सहजताहरू तथा थप आवश्यकताहरूका बारेमा अनुभव साटासाट गरेका थिए।
कार्यक्रमबाट कृषि क्षेत्रमा डिजिटल प्रविधिको प्रयोग, सूचना पहुँचको सुधार, उत्पादनमा वृद्धि तथा बजार व्यवस्थापनको प्रभावकारी उपायहरूबारे थुप्रै सकारात्मक सुझावहरू प्राप्त भएकाे प्रमुख प्रशासकिय अधिकृत गाैतम भण्डारीले बताए । भविष्यमुखी योजना निर्माणमा कृषकहरूको सरोकार समेट्ने प्रतिवद्धता समेत प्रमुख प्रशासकीय अधिकृत भण्डारीले जनाएका छन् ।

























