ढाेरफिर्दीका खाँणलाइ खुकुरी हानी हत्या गर्ने भिमादका शाही २९ वर्षपछि पक्राउ

शुक्लागण्डकी नगरपालिका स्थित ढाेरफिर्दीका चित्रबहादुर खाँणलाइ हत्या गरि फरार रहेका एक व्यक्तिलाई प्रहरीले २९ वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा साविक भानुमति गा.वि.स. वडा नं. ९ हाल भिमाद नगरपालिका वडा नं. ८ बस्ने बर्ष ५१ का फिरोज भन्ने फत्त बहादुर शाही रहेका छन् ।

२०५२ साल चैत्र २२ गते साविक ढोरफिर्दी गाविस वडा नं.-८ र भानुमति गा.वि.स. वडा नं. ७ राईपुरको सिमानामा पर्ने क्यांङ्दी खोला र वरखोला बीच जरेबरमा लागेको मेलामा महिलाको विषयमा सामान्य बादबिबाद हुँदा सोही स्थान बस्ने चित्र बहादुर खाँणलाई खुकुरी तथा छुरी प्रहार गरी कर्तव्य गरी मारेेर शाही फरार रहेका थिए । तनहुँ जिल्ला अदालत दमौलीबाट मिति २०६० साल माघ २८ गतेको फैसलाले कर्तव्य ज्यान सम्बन्धी कसुरमा २० बर्ष कैद सजाय तोकी वारदात पश्चात फरार रहेका साविक भानुमति गा.वि.स. वडा नं. ९ हाल भिमाद नगरपालिका वडा नं. ८ बस्ने बर्ष ५१ का शाहीलाई २९ बर्ष ३ महिना पश्चात् बिशेष सुचनाको आधारमा खटिएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराको टोलीले पक्राउ गरेको प्रहरीले बताएको छ । उनलाई आज स्याङ्जा चापाकोट नगरपालिका ४ घुर्लिचौरमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरी आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय तनहुँ पठाइएको समेत प्रदेश प्रहरी कार्यालय पाेखराले जानकारी दिएको छ ।


























