दमाैलीकाे श्रीकृष्ण नर्सरीले किरा जस्तो ठाउँलाई हिरा जस्तो बनायाे


तनहुँकाे व्यास नगरपालिका वडा नं ३ पुरानो प्रशासन कार्यालय अगाडि रहेको श्रीकृष्ण नर्सरीले किरा जस्तो ठाउँलाई हिरा जस्तो बनाएको छ । फाेहाेरमैलाले भरिएको , लागुऔषधकाे अखडा बनेको उक्त ठाउँमा उक्त नर्सरी बसेपछि हरियाली र हराभरा भएको छ । सरकारी कार्यालय र दमाैलीकाे मुख्य भागमा दिसापिसाब लगायतका फाेहाेरले दुर्गन्धित भएपछि सरसफाइ गरेर नर्सरी खाेल्न र हरियाली बनाउन भन्दै पाेखरामा व्यवसाय गरेका उक्त नर्सरीका सञ्चालक गम्भीरदास नेपाललाई तत्कालीन समयमा यहाँ बाेलाइएकाे थियो ।


नेपालले निकै मेहेनत गरि उक्त किरा जस्तो ठाउँलाई हिरा जस्तो बनाइ नर्सरी स्थापना गरेका थिए । २०६८ सालबाट सुरु भएको उक्त नर्सरी सञ्चालन पश्चात् सुरुका दुई वर्ष केही गार्हो भए पनि पछिल्लो समय कुनै समस्या नभएको सञ्चालक नेपालले बताए । उक्त नर्सरी सञ्चालनमा आएयता जिल्लामा हुने हरेक कार्यक्रमहरूमा फुल ,माला , गमला लान समेत निकै सजिलो भएको छ । त्यतिमात्रै हाेइन दमाैली र आसपासका अधिकांश घरको काेशीहरूमा उक्त नर्सरीबाट फुलका बिरुवा लगी लगाउने गरिएको छ । नर्सरीमा सिजनेवल फुल देखि महंगो फलफूलहरू स्याउ , नास्पती , आरू , आरूवखडा , अम्बा , कागती , कटहर जस्ता फलफूलका विरूवाहरू रहेका छन् । नर्सरीबाट तनहुँ सँगै लमजुङ , गाेरखा बाट समेत बिरुवा लिन आउने नेपालले बताए । बिरुवा लिन आउने जाेसुकैलाइ पनि राेपण गर्ने तरिका सिकाउने गरिएको छ । धेरै प्रकारका बिरूवाहरू दमाैलीमै पाइने भए पछि अन्यत्र बिरुवा लिन जाने झन्झट हटेको स्थानीय बताउँछन् । एकातिर राम्रो , सुन्दर र आकर्षक भएको छ , अर्कोतर्फ बिरूवा आवस्यक पर्नेलाइ लान सजिलो भएको छ व्यास २ दमाैलीका राजु दाहालले बताए । दमाैलीकै सुन्दरता जाेगाउने यस्तो किसिमको नर्सरीलाई सबै मिली जाेगाउनुपर्छ दाहालले भने ।

नर्सरी सञ्चालनमा आएपछी जिल्लामा मन्त्री , सांसद आउँदा सजाउन यहीँबाट बिरुवा लाने गरिएको छ ।उनलेे कतिपय ठाउँमा त निसुल्क रूपमा समेत बिरुवा दिँदै आएका छन् । सञ्चालक नेपालले विपी पार्कमा लगाइएको गार्डेन जाेगाउने , हेरचाह गर्ने , पानी हाल्ने लगायतका काम निशुल्क रूपमा गर्दै आएका छन् ।राम्रो काम गरेको सरसफाइमा ध्यान दिएको र विभिन्न कार्यक्रमहरूमा सहयोग गरेको भन्दै उनलाई जिल्ला प्रशासन तथा जिल्ला प्रहरी कार्यालयले २०७५ सालमा सम्मानपत्रले सम्मान समेत गरेको थियो ।
नेपालले सुरुमा निशुल्क दिन्छम , याे ठाउँ हराभरा बनाइदिनुस भनेर पाेखरामा व्यवसाय गरेर बसेकाे मान्छेलाई बाेलाएकाे भए पनि आँफैले निशुल्क बस्दिन भनेर मासिक ५ हजार तिरेको स्मरण गरे । सुरुमा ५ वर्ष सम्म ५ हजार तिरेर बसेकाे र अहिले पछिल्लो समय वर्षको ३८ हजार तिर्ने गरेको उनलेे जानकारी दिए । निकै दुख र मेहेनत गरेर सम्झौता अनुसार समयमै भाडा तथा कर तिरेर बसेकाे भए पनि पछिल्लो समय केही व्यक्तिहरूले गरेर खाएको देख्न नसकेको उनको दुखेसो छ । म त आफ्नै परिश्रममा बाँचेको मान्छे मलाई किन आखा लगाउन पर्याे नेपालकाे भनाइ छ । अहिले नर्सरी हटाउन पर्याे भन्ने सुन्दा आश्चर्यचकित भएको उनलेे बताए । केही व्यक्तिले नर्सरी हटाउनुपर्ने भनेपनी अधिकाँशले हटाउन नहुने बरू थप व्यवस्थित गर्नुपर्ने सुझाव दिएका छन् । त्यो ठाउँ बल्ल बनेको छ , फेरि हटाएर पहिलाको जस्तै दुर्गन्धित बनाउने ? बजारबासीकाे भनाइ छ । यदि हटाउनैपर्ने बाध्यता भए विकल्प दिएर मात्रै हटाउनुपर्छ अर्का स्थानीय बलराम तिवारीले भने । नर्सरीमा हाल दुईजनाले राेजगारी समेत पाएका छन् ।

























