भानुका प्रमुख प्रशासकिय अधिकृत भण्डारी व्यवसायिक किसानसँग घर–गोठ भेटघाट कार्यक्रममा

भानु नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारी संयोजकत्वकाे टाेली व्यवसायिक किसानहरूको घर–गोठ भेटघाट कार्यक्रमको नविनतम सुरुआतमा लागेको छ। कुशल प्रशासककाे छवि बनाएका भण्डारी जुनसुकै स्थानीय तहमा रहँदा पनि केही नयाँ काम र फरक शैलीले परिचित छन् । उनको सामान्य जिवनशैली र केही गर्नुपर्छ भन्ने हुटहुटिले पनि उनी भएको पालिकामा केही नयाँ कामहरू हुने गरेका छन् । जसअनुसार कृषि तर्फकाे कार्यक्रमको पहिलो चरणमा वडा नं. ८, ९ र १० का किसानहरूको घर र फर्ममा पुगेर उनीहरूको अवस्था, समस्या र सम्भावनाबारे प्रत्यक्ष जानकारी लिने कार्य सम्पन्न गरिएको भानु नगरपालिकाले जनाएको छ ।
भेटघाटका क्रममा वडा नं. ८ का दिपक बजगाईंको भैंसीपालनबाट मासिक रु. ५०,००० आम्दानी भइरहेको , वडा नं. १० का चिरञ्जीवी लौडारीको नमूना बाख्रापालन फर्ममा करिब ९० वटा बाख्रा रहेको र सो फर्मबाट मासिक रु. ६०,००० बराबरको आम्दानी भइरहेको पाइएको बताइएको छ ।


त्यस्तै, वडा नं. १० का रामबाबु भुजेल वैदेशिक रोजगारबाट फर्केर एकीकृत कृषि तथा पशुपालनमा समर्पित भएर सफल जीवन यापन गरिरहनु भएको पाइएको छ। उनको फार्ममा भैँसी, गाई, बाख्रा, मौरीपालन, मेवा, कागती तथा विभिन्न तरकारी खेती रहेका र जसबाट मनग्य आम्दानी गर्न सफल भएको पाइएको छ।

यस कार्यक्रममार्फत पालिकाले केवल अवलोकन मात्र होइन, कृषि तथा पशु प्राविधिकहरूको प्रत्यक्ष प्राविधिक परामर्श तथा सहयोग पनि प्रदान गरेको छ। फर्ममा देखिएका समस्या तथा सुधारका उपायहरूबारे किसानहरूलाई प्रत्यक्ष सुझाव दिइएको छ।

























