पराशर र दुलेगौंडा – लामागाउँ सडकले पाए विश्व बैंकको अनुदान सहयोग
तनहुँ, साउन २१ गते
तनहुँको दुई सडकले विश्व बैंकबाट अनुदान सयहोग पाएका छन् । व्यास नगरपालिका र शुक्लागण्डकी नगरपालिकाका दुई सडकले अनुदान पाएका हुन् । विश्व बैंकको सहयोगमा नेपाल सरकार सहरी विकास मन्त्रालयको सहरी शासकीय तथा पूर्वाधार विकास कार्यक्रम मार्फत बजेट प्राप्त भएको हो । चालु आर्थिक वर्ष २०८२/८३ मा पुस महिना भित्र सम्पन्न हुने गरी काम गर्न बजेट विनियोजन भएको बताइएको छ ।
जसअनुसार व्यास नगरपालिकामा पराशर मार्ग र शुक्लागण्डकी नगरपालिकामा दुलेगौडा–लामागाउँ सडक स्तरोन्नति भईरहेका छन् । अस्फाल्ट प्रविधिबाट कालोपत्र गर्न सम्झौता भई काम भईरहेको छ । उकालो र गाह्रो केही ठाउँमा आरसिसी ढलान हुनेछ भने अन्य ठाउँमा नालासहितको कालोपत्र हुने गर्ने सम्झौतमा उल्लेख छ । सदरमुकाम दमौलीमा घनाबस्ती भईसकेकाले नयाँ सहरको रुपमा विकास गर्न र किसानलाई स्थानीय उत्पादनको बजारीकरणका लागि सहज बनाउन स्तरोन्नतिको काम अघि बढेको व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले बताए । ७, ९, १० र ११ गरी चार वडालाई जोड्ने गरी चक्रपथ निर्माण यसअघि खुलेका ती ट्र्याकमा स्तरोन्नतिको काम भईरहेको न्यौपानेले जानकारी दिए। सहरीकरण बढ्दै जाने क्षेत्रलाई प्राथमिकता राखेर काम गर्ने क्रममा पराशर मार्ग छनोटमा परेको नगर प्रमुख न्यौपानेले बताए । निर्धारित पुस महिना सम्ममा काम पुरा गर्न गति बढाउन नगरपालिकाले सम्बन्धित निर्माण व्यावसायीलाई निर्देशन दिएको छ । निर्देशन दिएपछि हाल धमाधम काम भईरहेको नगरपालिकाले जनाएको छ । बुल्दीखोला–बेलटारी–फराकचौर–अधेरीभञ्ज्याङ–कुमालगाउँ–समता स्कुल–कलेस्ती सडक जोडिने उक्त खण्डमा १० दशमलव ५५ किलोमिटर दूरी कालोपत्र हुनेछ ।
उक्त सडक स्तरोन्नतिका लागि गत वैशाख १६ गते निर्माण कम्पनीसँग सम्झौता भएको थियो । विसं २०८२ असारसम्म सम्पन्न गर्ने गरी काम अघि बढाईएकोमा काम पुरा नभए पछि छ महिना म्याद थप भएको व्यास नगरपालिकाका सिनियर डिभिजन इन्जिनियर डा. राजु पौडेलले जानकारी दिए । हाल सम्म १८.२९ प्रतिशत काम भएको पौडेलले जानकारी दिए । सडक स्तरोन्नतिका लागि रु ४० करोड ८३ लाख ३५ हजार नौ सय २१ मा निर्माण कम्पनी बिकेएचटिडिसिएल एसिपिएल जेभी कालीमाटीसँग सम्झौता भएको थियो । सडक स्तरोन्नतिका लागि गत विसं २०८० पुस २६ गते ५२ करोड ७८ लाख ३० हजार चार सय २७ को ठेक्का आह्वान भएको थियो । त्यसमध्ये नौ वटा फर्मले बोलपत्र दर्ता गराएकामा २३ दशमलव ४१ प्रतिशत घटी बोलपत्र दर्ता गराउने फर्मको बोलपत्र स्वीकृत भएको थियो ।

दु्लेगौंडा–लामागाउँ सडक खण्डमा ४५ प्रतिशत भौतिक प्रगति भएको ६१ दिनमा काम पुरा गर्ने प्रतिबद्धता ठेकेदारले गरेको शुक्लागण्डकी नगरपालिकाका प्रमुख नगरप्रमुख कृष्णराज पण्डितले बताए। म्याद थपिएको समयभित्र गुणस्तरीय काम सम्पन्न गराउन पालिकाले निरन्तर अनुगमन गरिरहेको पण्डितले जानकारी दिए । यो सडक कालोपत्रका लागि निर्माण कम्पनीसँग नगरपालिकाले वि.सं. २०८० चैत २५ गते सम्झौता गरेको थियो । मोटरमार्ग सात दशमलव एक किलोमिटर दूरी कालोपत्र गर्न थालिएको प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामगादेले जानकारी दिए । लामगादेका अनुसार उक्त ठेक्काको रकम २७ करोड ३४ लाख ७९ हजार आठ सय ३४ रहेको छ । शुक्लागण्डकी–४ दुलेगौडाबाट सुरु हुने कालोपत्रले शुक्लागण्डकी–८, ९ र १२ वडालाई जोड्छ । दुलेगौडास्थित बिपीचोक, हेल्थपोष्टचोक, पुल्चोक, घारी, तालबेँसी, मालेबगर हुँदै लीलाचोकसम्म कालोपत्र हुनेछ । सडकको चौडाइ दश मिटरको रहनेछ । पाँच दशमलव पाँच मिटर कालोपत्र, कालोपत्रको दुवै छेउमा एक–एक मिटरको नाला निर्माण हुनेछ ।
शुक्लागण्डकी–४ दुलेगौडाबाट शुक्लागण्डकी–१२ लामागाउँ मोटरमार्ग १४ किलोमिटर छ । सडक कच्ची हुँदा हिउँदमा धुलाम्मे र वर्षामा हिलाम्मे हुँदा सर्वसाधारणलाई आवतजावतमा समस्या हुँदै आएकोमा अब समाधान हुने इञ्जिनियर तारापति भट्टराईले जानकारी दिए । सहरी विकास मन्त्रालयले कार्यक्रम सञ्चालन भएका पालिका र सहयोगी निकायबीच मङ्गलबार र बुधबार गरी दुई दिन काठमाडौंमा भेला गरी हालसम्मको प्रगती र भावी योजनाको बारेमा जानकारी गराएको छ । कार्यक्रमको मङ्गलबार कार्यबाहक प्रधानमन्त्री प्रकाशमान सिंहले उद्घाटन गरेका थिए । सो कार्यक्रममा तनहुँका दुवै पालिकाले ठेकेदारले काममा ढिलाई गर्दा समस्या परेको अवगत गराएका थिए । बारम्बार अनुगमन गरेर छिटो काम पुरा गर्न भने पछि हाल कामदार थपेको पालिकाको प्रगति प्रतिवेदनमा उल्लेख छ ।
फोटो क्याप्सन–
तनहुँको व्यास नगरपालिका र शुक्लागण्डकी नगरपालिकाको टोली विश्व वैंकको प्रतिनिधी समक्ष प्रगति प्रतिवेदन सार्वजानिक गर्ने क्रममा सहभागी हुँदै ।

























