कर्मचारी सरुवा मापदण्ड अनुसार हुनेः मन्त्री न्यौपाने

कर्मचारी सरुवा मापदण्ड अनुसार हुनेः मन्त्री न्यौपाने

साउन २२ , संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले कर्मचारी सरुवा मापदण्डअनुसार हुने बताएकी छन् । प्रेस चौतारी नेपालले बुधबार मन्त्रालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री न्यौपानेले कर्मचारी सरुवामा यसअघि हुने गरेको बेथितिलाई अन्त्य गरिने बताइन् ।

’यो मन्त्रालयसँग सम्बन्धित विभिन्न प्रश्नहरु यस अघि पनि उठ्ने गरेको छ’ मन्त्री न्यौपानेले भनिन्’ मन्त्रालयको काम कर्मचारी सरुवा र बढुवाको मात्रै काम हो कि भन्ने बुझिन्छ, त्यो भ्रम तोडेर अगाडि जानु छ ।’ सरुवामा गुनासो नआउने गरि मापदण्ड बनाईएको र सुरुवामा पुर्व अनुमानयोग्य बनाईने मन्त्री न्यौपानेले बताइन्।
चुनौतीको बिच मन्त्रालय सम्हालेको भन्दै मन्त्री न्यौपानेले भनिन् ’म उभिएको ठाउँमाथि चुनौतीको आगो बलेको छ, त्यहि आगोमा उभिएर अगाडि बढ्ने हो । कसैले पनि लोभ, लालचमा फकाउने र फसाउने काम हुन दिन्न ।’
मन्त्रालयका ६ वटा महाशाखाबाट ब्रिफिङ लिने काम भएको र अबको कार्ययोजनाको बारेमा जानकारी लिईसकेको भन्दै मन्त्री न्यौपानेले अब कामको रफ्तारलाई अगाडि बढाउने बताइन् । संघियतालाई बलियो बनाउने र संघियता स्थायित्व दिने विषयमा पनि संघियता कार्यान्वयन भएका अन्य मुलुकहरुको अभ्यास कस्तो छ भन्ने बारेमा पनि अध्ययन गरिने न्याैपानेले बताइन् ।
कर्मचारीमा शुसासनको विषयमा तथा जनताको काम सम्पादन गर्ने विषयमा प्रश्न उठेको भन्दै उनलेे जनताको कामलाई कुनै पनि बाहानामा आलटाल गरेमा आफुले नसहने बताइन् । कर्मचारीको सेवा प्रति जनताको गुनासो सुनुवाइको व्यवस्थाको लागि पहिलोपटक मन्त्रालयमा गुनासो व्यवस्थापन संयन्त्र बनाईएको छ ।
अझैपनि करिब १ सय स्थानीय तहले बजेट तथा कार्यक्रम ल्याउन नसकेको भन्दै मन्त्री न्यौपानेले बजेट ल्याउन नसक्ने स्थानीय तहको समस्या समाधान गर्न मन्त्रालयका तिन जना सहसचिवको नेतृत्वमा टोली परिचालन गरिएको र बुधबारबाट उक्त टोली परिचालन भईसकेको जानकारी दिइन्। उक्त टोलीले पालिकाको समस्या समाधान गरेर बजेट पारित गर्न सुझाब दिनेछ ।
प्रेस चौतारी नेपालका अध्यक्ष गणेश पाण्डेको अध्यक्षतामा भएको उक्त पत्रकार सम्मेलनमा प्रेस चौतारी नेपालका निवर्तमान अध्यक्ष गणेश पाण्डे, नेपाल पत्रकार महासंघका उपाध्यक्ष नितु पण्डित, सन्चारिका समुहकी अध्यक्ष कमला पन्थी, आदिवासी जनजाती पत्रकार महासंघका अध्यक्ष लक्की चौधरी, प्रेस चौतारी नेपालका महासचिव हिरामान लामा लगायतले मन्त्री न्यौपानेलाई विभिन्न विषयमा सुझावहरु दिएका थिए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page