रास्वपाबाट सांसद उम्मेदवारकाे चर्चामा रहेका इन्जिनियर न्याैपाने घिरिङ पसे

रास्वपाबाट सांसद उम्मेदवारकाे चर्चामा रहेका इन्जिनियर न्याैपाने घिरिङ पसे

सुरुङ्गविज्ञको रुपमा चर्चित उर्जा तथा जलश्रोत विज्ञ बरिस्ठ ईन्जिनियर श्रीराम न्याैपाने यतिबेला निकै चर्चामा रहेका छन् । ईन्जिनियर न्याैपाने बिगत केही दिनदेखि तनहुँ क्षेत्र नं २ का विभिन्न ठाउँमा पुगेर त्यहाँका जनतासँग भेटघाट गरिरहेका छन् । विभिन्न कार्यक्रम मार्फत पुगेका न्याैपानेले म्याग्दे , शुक्लागण्डकी , भिमाद हुँदै साेमबार घिरिङकाे भलिबल प्रतियोगितामा प्रमुख अतिथिको रूपमा उद्घाटन गर्न पुगेका थिए । एमालेकाे पकड रहेको घिरिङमा रास्वपाका नेता समेत रहेका न्याैपाने प्रमुख अतिथि बनेपछि एमालेमा खैलाबैला मच्चिएको बताइएको छ । यद्यपि न्याैपानेले राजनीतिकाे नाम लिएनन् र बिकास निर्माणका कुराहरू मात्रै गरेर फर्किएको सहभागीहरूले बताएका छन् ।

उनलेे गाउँमा अहिलेसम्म हुन नसकेको बिकासको लागि आफुले सक्दो पहल गर्ने बताए । घिरिङ्ग गाउँपालिका वडा नं. ३ ग्याजामा आयोजित भलिबल प्रतियोगिताको उद्घाटन समारोहमा प्रमुख अतिथिको रुपमा सहभागी हुदै ईन्जिनियर न्यौपानेले प्रशस्त सम्भावना भएको घिरिङ्ग बिकास निर्माणमा पछाडि पारिएको र यहाँ रहेका दलित, आदिवासी, जनजाती तथा सम्पूर्ण घिरिङ्गबासीको लागि आफु काम गर्न ईच्छुक रहेको बताएका थिए । ई. न्यौपानेले आफु तनहुँको छोरो, बिकासप्रेमी र समाजसेवी व्यक्ति भएको कारण गाउँका समस्याहरुको समाधानका लागि पहल गर्ने जानकारी दिएका थिए ।

इन्जिनियर न्याैपानेकाे भनाइ जस्ताको तस्तै –
जुन तारा युवा क्लबद्वारा तिहारको संघारमा आयोजित खुल्ला जुनियर पुरुष भलिबल प्रतियोगिताको उद्घाटन समारोहमा पाल्नुहुने सबैलाई म तनहुँ बासी इन्जिनियर श्रीराम न्यौपानेको तिहारको शुभकामना सहित हार्दिक नमस्कार !
यहाँहरुलाई लागेको होला – घिरिङको भलिबल प्रतियोगिता उद्घाटन गर्न को आइपुग्यो भनेर।

आफ्नो छोटो परिचय दिएरै म केहि कुराहरु राख्न चाहन्छु।

म पोखराको इन्जिनियरिङ क्याम्पस पढ्दा पढाइमा मात्र पहिला नभएर भलिबल, क्रिकेट, व्याडमिन्टन, चेस, कविता, हाजिरीजवाफ प्रतियोगितामा पनि पहिलो हुने विद्यार्थी थिए।

करिव २९ वर्ष पहिला इन्जिनियर भएर म तनहुँ खानेपानीमा सरकारी जागिरमा रहँदा पहिलोपटक घिरिङमा पाइला टेक्ने अवसर पाएको थिए। ९ महिने सरकारी जागिरबाट राजिनामा दिएर आफैले इन्जिनियरिङ कलेज खोलि १२ वर्षसम्म पढाउने क्रममा प्रिन्सिपल समेत भएर २/३ हजार इन्जिनियर उत्पादन गर्ने देखि नेपालकै पहिलो अनि राष्ट्रिय गौरवका आयोजनाहरु मेलम्ची खानेपानी आयोजनाको अम्बाथान खण्डको सुरुङ, नागढुङ्गा सुरुङमार्ग निर्माण आयोजना, र नेपालकै पहिलो सबस्टेसन सहित सबै संरचना पहाड भित्र भएको मादी नदीमा ४३ मेगावाटको जलविद्युत आयोजनाहरुमा आयोजना निर्देशक रहि नेतृत्वदायी भुमिका निर्वाह गरे र गरिरहेको पनि छु। यस क्रममा तनहुँका सयौ युवालाई रोजगारी दिने देखि देश विकासमा योगदान पुर्याउने ठूला सपना बोकेर अघि बढीरहेको छु।

म सामाजिक क्षेत्रमा पनि सक्रिय थिए र छु पनि — ०६४ सालमा ६०१ जना संविधानसभा सांसदलाई इन्टरनेट इमेल तालिम कार्यक्रम र २१ वटा सरकारी विद्यालयका शिक्षकलाई कम्प्युटर तालिम, प्रधानमन्त्रीसँग ७५ वटै जिल्लाका वालवालिकासंग अन्तर्क्रिया कार्यक्रम र रामदेवको प्रथम योगशिविर सञ्चालन, २ दर्जन जति देशको भ्रमण, इन्जिनियरिङ शिक्षा, सुरुङ निर्माण र ऊर्जा तथा जलस्रोत विज्ञको हैसियतमा राष्ट्रिय सञ्चार माध्यममा दर्जनौं अन्तर्वार्ता, लेख रचना प्रकाशन, अनुसन्धान, सामाजिक सञ्जालमा सक्रियता, ऊर्जा नीति संवाद कार्यक्रमको आयोजना तथा दर्जनौं सम्मान र राष्ट्रपतिबाट प्राप्त ‘प्रवल जनसेवाश्री चतुर्थ श्रेणी’ पदक आदिले मेरो सामाजिक सेवाको यात्रालाई अझ अर्थपूर्ण बनाएको छ।

म आफु इन्जिनियर र तनहुँकै बासिन्दा भएकोले तनहुँको विकास कसरी गर्न सकिन्छ, तनहुँका समस्या कसरी समाधान गर्न सकिन्छ र तनहुँका जनतालाई कसरी धनी बनाउन सकिन्छ भन्ने खाका कोर्न, र तपाईँहरू सबैसँग मिलेर नयाँ सम्भावनाको बाटो खोज्न पनि म आज घिरिङ आइपुगेको हुँ।

इन्जिनियर स्वभावले नै कुरा भन्दा काम गर्न जान्ने हुन्छन्, त्यसैले त घरघरमा बिजुली र पानीको धारा ल्याउँन सक्छन्, बाँझो जमिनमा कुलो र नहर ल्याउछन्, आवस्यकता अनुसार सडक, पुल, भवन निर्माण गर्छन्। मसंग स्पष्ट भिजन छ – आगामी १५ वर्ष भित्र ५० हजार मेगावाट बिजुली उत्पादन गरी स्वदेशमै खपत गरेर देशलाई विकसित र समृद्ध बनाउने, देशको अर्थतन्त्र ह्वात्तै उकास्ने, आजको प्रति व्यक्ति आय १४०० बाट न्युनतम ५००० डलर पुर्याउने।

आज जुन तारा युवा क्लवले आयोजना गरेको रमाइलो भलिबल प्रतियोगितामा प्रमुख अतिथिको निम्तो पाएर आउन पाउँदा मलाई निकै खुशी लागेको छ।

यहाँको माहोल हेर्दा लाग्छ — यो गाउँमा खेलको माया साँच्चिकै गहिरो छ । खेलको असली भावना के हो भने खेलमा प्रतिस्पर्धा पनि हुन्छ, साथै मित्रता पनि।

केही दिनअघि नेपाली क्रिकेट टोलीले ऐतिहासिक सफलता हात पारेको छ। खेलाडीहरूले हरेक गेम जितेर नेपाललाई विश्वको नक्सामा अझ चम्किलो बनाए — जसले प्रमाणित गर्‍यो कि सानो देश भए पनि ठूलो उपलब्धि हासिल गर्न सकिन्छ।

साथीहरू, हाम्रो देशको भौगोलिक बनावट फराकिलो र विविध छ। हिमाल, पहाड र तराई मिसिएको हाम्रो भूगोलले क्रिकेट मैदान जस्ता ठूला खेल मैदानहरु हरेक ठाउँमा बनाउन सजिलो काम छैन। हरेक गाउँ, टोल वा विद्यालयमा क्रिकेट खेल्नका लागि ठूला मैदान, उपकरण र लगानी आवश्यक पर्छ।

तर भलिबल भने पहाडका हरेक ठाउँमा खेल्न सकिने खेल हो। भलिबलको कोर्ट बनाउन धेरै ठूलो ठाउँ चाहिँदैन, धेरै खर्च पनि लाग्दैन, र यो खेल हरेक उमेरका युवायुवतीले खेल्न र अभ्यास गर्न सक्छन्।

राज्यले चाह्यो भने —

पहाडका हरेक विद्यालयमा, हरेक गाउँपालिकामा, हरेक टोलमा, भलिबलको अभ्यास र प्रतियोगितालाई प्राथमिकता दिन सक्छ।

भलिबल हाम्रो राष्ट्रिय खेल पनि हो। यो खेलले हाम्रो एकता, टोली भावना र दृढ इच्छाशक्तिलाई झल्काउँछ। टोल गाउँ तहदेखि नै युवा खेलाडीहरूलाई सहयोग, तालिम र अवसर दिइयो भने भलिबलले पनि नेपाललाई विश्वस्तरमा चिनाउन सक्छ।

त्यसैले साथीहरू, अब समय आएको छ —
केवल क्रिकेट मात्र होइन, भलिबल खेललाई पनि उत्तिकै महत्व दिने।

हाम्रो एउटै चाहना हो — खेल मार्फत एकता, अनुशासन र गौरव स्थापित होस् र मेरो सानो सहयोगले तपाइहरु संग परिचित हुने अवसर मिलोस्। म जनताले तिरेको कर र राज्यको ढुकुटीबाट कुनै सुविधा नलिइ समाजिक सेवामा समर्पित हुने र नाम कमाउने अवसरको खोजिमा छु।

सबैले भलिबललाई अपनाएर खेलमैत्री समाज बनाऔं, र देशको झण्डा अन्तर्राष्ट्रिय स्तरमा उचालौं।

तर यो सबै कुरालाई देशको राजनीतिले हाँक्ने हो। त्यसैले म खेल र राजनीति बारे पनि केहि भन्न सान्दर्भिक ठान्दछु ।

खेल र राजनीति फरक जस्तो लाग्छ, तर असल अर्थमा दुवै देश बनाउने बाटो हुन्।

राजनीतिले देश चलाउँछ, तर खेलले देशको नाम उचो बनाउँछ, देशलाई संसारमा चिनाउँछ।

खेल खेल्दा खेलाडी, रेफ्री र दर्शक सबैले नियम र अनुशासन पालना गर्छन्। जसले नियम तोड्छ, ऊ बाहिरिन्छ। यही अनुशासन र इमानदारी हाम्रो राजनीतिमा पनि लागू हुनुपर्छ।

विगत ३५ वर्षमा यदि देश चलाउने नेताहरूले खेलाडीले खेलमा देखाउने जस्तै नियम पालन र अनुशासन देखाएका भए, आज नेपाल एसिया–प्रशान्त क्षेत्रमा सबैभन्दा गरिब देश हुने थिएन।

हाम्रो स्रोत- जलस्रोतलाई चिनेर ५०००० मेगावाट विजुली उत्पादन गरेर स्वदेशभित्रै खपत गर्न सकेको भए र वैदेशिक रोजगारीमा जान वाध्य युवा जनशक्तिलाई स्वदेशमै उपयोग गर्न सकेको भए ३५ वर्षमा नेपाल संसारकै धनि देश बन्न सक्थ्यो।

हाम्रो देशसँग प्राकृतिक स्रोत, मेहेनती जनशक्ति र अद्भुत क्षमता छ, तर नेतृत्वमा इमानदारी, अनुशासन र व्यवस्थापन क्षमताको कमीले हामी पछि परेका छौं।

अब समय आएको छ — हामी सबैले राजनीति पनि “खेल” जस्तै इमान र नियममा आधारित बनाउनुपर्छ। जब नेताहरूले देशलाई खेल मैदानको जस्तो पवित्र ठाउँ मानेर काम गर्नेछन्, तब मात्र नेपाल समृद्ध बन्नेछ। तपाइहरुको मतले नै त्यस्तो नेता छानिने हो ।

खेल भनेको केवल जित्ने कुरा होइन, यो त अनुशासन, सम्मान र सहकार्य सिकाउने विद्यालय हो।

खेलमा हारे पनि मानिस बलियो बन्छ,
जीवनमा पनि कहिलेकाहीँ हारेरै सिकिन्छ —
त्यसैले खेलाडीको मन कहिल्यै सानो हुँदैन।

हामी सबैले यही भावना राजनीति र समाजमा पनि ल्याउनुपर्छ —
मतभेद हुन सक्छ, तर मनभेद हुनु हुँदैन

खेलमैदानमा जस्तो इमान र निष्पक्षता राजनीति र नेतृत्वमा पनि जरुरी छ।

अन्तमा,
सबै खेलाडीहरूलाई म हार्दिक शुभकामना दिन्छु —
पूरा जोशका साथ खेल्नुस्, हार्‍यो भने पनि हाँस्दै, हात मिलाउदै खुशीका साथ मैदान छोड्नुस्।

खेलमा अनुशासन र एकता देखाउनुहोस् – घिरिङ-३ को ग्याजा गाउँलाई समाज र देशमा चिनाउनु होस्, फैलाउनुहोस्। फेरि पनि शुभकामना छ।
ई. श्री राम न्यौपाने

ग्याजाको जुनतारा युवा क्लबका अध्यक्ष संजिव नेपालीको अध्यक्षतामा भएको कार्यक्रममा मनोज अधिकारी, हरि लम्साल, टुकराज नेपालीले प्रतियोगिताको सफलताको शुभकामना व्यक्त गरेका थिए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page