म्याग्देले माग्याे हल गाेरू पाेषण अनुदानको लागि कृषककाे आवेदन
तनहुँकाे म्याग्दे गाउँपालिकाले हलगाेरू पाेषण अनुदान कार्यक्रम अन्तर्गत हल गाेरूपालक कृषकहरूकाे आवेदन माग गरेको छ । गाउँपालिकाले आर्थिक वर्ष २०८२–८३ काे वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत यस आर्थिक वर्ष ( खण्ड अन्तर्गत वडा नं ५,६ र ७) का हलगाेरू पालक कृषकहरू लाई प्रति हल बढीमा चार हजार अनुदान प्रदान गरिने भएकोले इच्छुक कृषकहरूलाई आवेदनकाे लागि सुचना प्रकाशित गरेको प्रमुख प्रशासकिय अधिकृत नारायण प्रसाद अधिकारीले बताए । प्रमुख प्रशासकिय अधिकृत अधिकारी द्वारा हस्ताक्षरित सुचनामा भनिएको छ सुचना प्रकाशित भएको मितिले तीस दिन भित्रमा पशुधनिकाे नागरिकताकाे प्रतिलिपी , कम्तिमा तीन बर्ष हल गोरु पाल्ने र आफै खेत जाेत्ने कार्यमा संलग्न भएको तथा हुने प्रतिवद्धता पत्र , निवेदक र हल गाेरू संयुक्तरूपमा देखिने फाेटाे र पशुधनीकाे आफ्नै नाममा रहेको बैंक खाता नं निवेदनमा समावेश गर्नुपर्नेछ ।

गाउँपालिकाले गत आवमा २७५ कृषकलाई प्रोत्साहन रकम उपलब्ध गराएको थियो । पछिल्लो समय गोरु पाल्ने प्रचलन हराउँदै जान थालेपछि प्रतिहलगोरुलाई चार हजारका दरले कृषकलाई प्रोत्साहन रकम उपलब्ध गराएको गाउँपालिकाले जनाएको छ । कृषकलाई प्रोत्साहन गर्न अनुदान कार्यक्रम राखिएको गाउँपालिकाका पशु सेवा उपशाखाका पशु विकास अधिकृत मुक्ति राम पौडेलले जानकारी दिए । उनले भने, “गाउँपालिका मातहत रहेका सात वटा वडा कार्यालयमध्ये गत आवमा १ देखि ४ नम्बर वडाका उक्त सङ्ख्याका हलगोरु पाल्ने कृषकलाई अनुदान दिएका हौँ, अनुदानमा रु ११ लाख खर्च भएको छ ।” उनका अनुसार आव २०८२र८३ का लागि ५ देखि ७ नम्बर गरी तीन वडाका कम्तीमा पाँच सय हलगोरु पाल्ने कृषकलाई अनुदान दिइने योजना रहेकाले सोहीअनुरूप बजेट समेत विनियोजन गरिएको छ । पशु शाखाले सबै कृषकको गाेठमा पुगी गाेरूलाइ टप ( ट्याग) लगाएपछि मात्रै अनुदान खाने संख्या (रेकर्ड राखेर) छुट्याउने जनाएको छ ।

गाउँपालिकाले सातवटै वडाका कृषकलाई प्रोत्साहनस्वरूप अनुदान दिँदै आएको छ । गोरु पाल्ने कृषकलाई बर्सेनि नदिई एक–एक वर्षको अन्तरालमा अनुदान दिइने गरिएको छ । गाउँपालिकाकाले गोरु पाल्ने प्रचलन घट्दै जाँदा खेतबारी बाँझो हुन थालेपछि जग्गा बाँझो हुन नदिन यस किसिमको कार्यक्रम ल्याइएको बताइएकाे छ ।

























