व्यासका एक सय १४ जना कर्मचारीको जागिरको छिनोफानो १६ गतेकाे कार्यपालिकाले गर्ने

व्यासका एक सय १४ जना कर्मचारीको जागिरको छिनोफानो १६ गतेकाे कार्यपालिकाले गर्ने

व्यास नगरपालिकामा अस्थायी र करार गरी एक सय १४ जना कर्मचारीकाे जागिरकाे छिनोफानो भाेली अर्थात् १६ गते आइतबारकाे कार्यपालिका बैठकले गर्ने भएको छ । आइतबार हुने कार्यपालिका बैठकमा सुशासन समितिले प्रस्ताव पेस गर्ने र व्यापक छलफल पश्चात् निर्णय हुने बताइएको छ । आर्थिक व्यवस्थापन सुधार, कर्मचारी दरबन्दी पुनरावलोकन तथा नयाँ योजना मापदण्ड निर्माणका विषयमा अध्यन गर्न प्रमुख प्रशासकिय अधिकृत सुकदेव लम्सालकाे संयाेजकत्वमा बनेको सात सदस्यीय समितिले एक सय १४ जना कर्मचारी हटाउन पर्ने देखिएको प्रतिवेदन पेश गरेपछि उक्त प्रतिवेदन सुशासन समिति हुँदै कार्यपालिका बैठकमा पेस हुन लागेको हाे ।

  नगरपालिकाको आर्थिक दायित्व घटाउने, प्रशासनिक दक्षता बढाउने र विकास योजनालाई व्यवहारिक बनाउन व्यासमा प्रमुख प्रशासकीय अधिकृत लम्सालको संयोजकत्वमा सात सदस्यीय समिति गठन भएको थियो ।

व्यास नगरपालिका सुशासन समितिका संयाेजक दलबहादुर दुराले आफ्नाे समितिलाई प्रतिवेदन प्राप्त भएको र उक्त प्रतिवेदन कार्यपालिका वैठकमा पेस गर्ने बताए । उहाँहरूबाट प्रतिवेदन प्राप्त भयो अब बाेर्ड बैठकमा प्रस्ताव पेस हुन्छ , त्यहीँबाट बल्ल के हुन्छ , कसरी अगाडि बढ्छ भन्ने थाहा हुने दुराले बताए ।

व्यास नगरपालिकाको स्वास्थ्य,शिक्षा र प्रशासन शाखामा कार्यरत अस्थायी र करारका कर्मचारी हटाउन लागेको भन्ने सन्दर्भमा कर्मचारीले प्रमुख प्रशासकिय अधिकृत सुकदेव लम्साललाई केही दिन अगाडि ज्ञापनपत्र समेत बुझाएका थिए। समितिले प्रतिवेदन सुशासन समितिमा बुझाउन अगाडि उक्त ज्ञापनपत्र बुझाएका थिए । प्रतिवेदन बुझाउनु अगाडि कर्मचारीले प्रमुख लम्साललाई भेटि बाठो बनेर काम नगर्न सचेत गराएकाे सहभागी एक कर्मचारीले बताएकाे अवस्थामा प्रतिवेदन अगाडि बढेको हाे । हामीले तपाईं हाम्रो बिरूद्धमा , हामीलाई हटाउनुपर्छ भन्ने पक्षमा हुनुहुन्छ रे के हाे कुरा किन त्यस्तो गर्नुहुन्छ भनेर भन्यौं ती कर्मचारीले भनेका थिए । तर उहाँले त्यस्तो बाहिर सुनिएको जस्तो हाेइन भन्नुभयो ती कर्मचारीले भने । जिल्लाका अन्य पालिकाले केही गरेका छैनन् , तर व्यासमा मात्रै ठुलै हल्ला मच्चाइएकाे छ ,यस्तो अवस्थामा तपाई खरायोकाे बेगमा हैन कछुवाकाे गतिमा बस्नुपर्छ , अरूतिर सबै ठाउँमा निकालेको अवस्थामा हामी पनि निस्किउँला ती कर्मचारीले सुझाएका थिए ।

कतिपय कर्मचारी हटाउँदा सेवाग्राहीकाे काम गर्न नसकिने अवस्था छ , काेहिलाइ राख्ने काेहिलाइ हटाउने गर्दापनी झन बिवाद हुन्छ , त्यसैले अहिले केही भन्न नसकिने सुशासन समितिले यसअघि नैं बताइसकेकाे छ ।
नगरपालिकाले अस्थायी र करार कर्मचारी हटाउँदा बार्षिक झण्डै रु.४ करोड व्यय कम पर्ने देखिएको छ ।
यश सम्बन्धमा प्रमुख प्रशासकिय अधिकृत सुकदेव लम्साल सँग सम्पर्क गर्दा आँफुहरूलाइ दिइएको जिम्मेवारी अनुसार ४ वटा विषयमा सुझाव सहितको प्रतिवेदन बुझाएको बताए । जसअनुसार स्राेत नभएको आयाेजना कटौती , अनुत्पादक खर्च कटौती , स्वीकृत दरबन्दी भन्दा बाहिरका कर्मचारी एकिन र मितव्ययिता कायम गर्ने जस्ता विषय समेटेर सुशासन समितिलाई बुझाएको जानकारी दिए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page