मृगौला दिएर श्रीमान बचाएकी हरिमायाकाे जाेडी ऋषिङकै नमुना जाेडी !

मृगौला दिएर श्रीमान बचाएकी हरिमायाकाे जाेडी ऋषिङकै नमुना जाेडी !

तनहुँको ऋषिङ गाउँपालिका–३ नाजुङ बस्ने वर्ष ४२ को हरिमाया थापा मगर र ५३ वर्षका विजय थापाको प्रेमकथा साँच्चिकै प्रेरणादायी बनेको छ । 

हरिमायाले आफ्नो श्रीमान् विजयलाई मृत्युबाट बचाउन प्राणभन्दा बढी माया देखाउँदै आफ्नै मिर्गौला दिएर श्रीमान विजयको जीवन बचाएकी छन् ।

 हरिमायाले भनिन् “उहाँ बिना म बाँच्नै सक्दिनँ, त्यसैले जीवनको अति जोखिम लिएर मिर्गौला दिई श्रीमानको जीवन बचाएको हुँ ।” 

श्रीमान् विजयले “मेरो श्रीमतीले मलाई आमाले जस्तो नि : स्वार्थ माया दिएकी छिन् । उनी मेरो लागि भगवान सरह भएको बताएका छन् ।

महाकवि लक्ष्मी प्रसाद देवकोटाले मुना र मदनको जीवनको कवितामा प्रेम देखाइएको भए तापनि हरिमाया र विजयको वास्तविक प्रेम त्यस कथाभन्दा पनि दोब्बर गहिरो र बलियो रहेको स्थानीयवासी बताउँछन् ।

 यस जोडीको कथाले गाउँमा सबैको प्रशंसा पाएको छ ।नजिकै रहेको सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक चित्रबहादुर थापाले भने “उहाँहरुको प्रेम र समर्पण साँच्चिकै प्रेरणादायी छ ।” त्यस्तै, कृष्ण प्राथमिक विद्यालयका प्रधानाध्यापक सोमबहादुर थापाले पनि यस्ता जोडीले नै समाजमा स्थायी माया र सद्भाव कायम राख्ने उदाहरण प्रस्तुत गरेको बताए। 

प्रधानाध्यापक थापा भन्छन्, “माया र समर्पणले पारिवारिक विखण्डन रोक्न, झगडा घटाउन र सामाजिक सद्भाव कायम राख्न ठूलो भूमिका खेलेको छ ।’’ हरेक क्षण आफ्नो जीवन जोखिममा राखेर श्रीमान् बचाउन हिँडेकी हरिमाया थापाको यो कथा केवल प्रेमको मात्र नभई बल, साहस र मानवताको सर्वोच्च उदाहरण हो । 

छोरीको कर्म देखेर गर्व लागेको हरिमायाको बुबा केहरसिंह थापाले बताए । थापाले भने “ याे जोडीलाई गाउँकै नमूना जोडीको रूपमा सम्मान गरेको देख्दा छोरी प्रति गर्भ लागेको छ ।’’ 

वैदेशिक रोजगारको क्रममा बिजय १९ वर्ष कुवेत बसेका थिए । कामको धेरै दबाब हुँदा रक्तचाप बढ्ने क्रममा मिर्गौला खराब भएको अनुमान विजयको छ । दुई वर्ष अघि मिर्गौला प्रत्यारोपण गरिएको उनले बताए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page