हार–जितभन्दा माथि जनताको सेवा : गोविन्द भट्टराई
नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले पदमा रहे वा नरहे पनि जनताको सेवा नै आफ्नो पहिलो प्राथमिकता भएको बताएका छन्। बन्दीपुर बजारमा आयोजित बन्दीपुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको नवौं वार्षिक साधारण सभाको शनिबार उद्घाटन गर्दै भट्टराईले निर्वाचनको हार–जितले सेवाको यात्रालाई नछेक्ने धारणा व्यक्त गरे ।

भट्टराईले भने “निर्वाचनमा जितेको भए बोलेका धेरै काम आफैं निर्णय गरेर अघि बढाउन सकिन्थ्यो। तर हारे पनि ती काम पूरा गर्न निरन्तर लागिरहेको छु। जितेको भए दिने ठाउँमा हुन्थें, अहिले माग्ने ठाउँमा भए पनि बन्दीपुरको खानेपानी समस्या समाधानका लागि योजना मागेको छु।” उनले बन्दीपुरमा दीर्घकालीन खानेपानी समाधान अपरिहार्य रहेको उल्लेख गर्दै संघ, प्रदेश र स्थानीय तहसँग समन्वय गरी योजना सम्पन्न गर्न सक्रिय रहने प्रतिबद्धता जनाए।

कार्यक्रममा बन्दीपुर गाउँपालिकाकी उपाध्यक्ष पञ्चमाया गुरुङले खानेपानी बन्दीपुरको प्रमुख समस्या रहेको उल्लेख गर्दै जनप्रतिनिधि, उपभोक्ता समिति र सरोकारवाला निकायबीच सहकार्य आवश्यक रहेको बताइन्। प्रमुख प्रशासकीय अधिकृत कमलबहादुर जिसीले योजना सम्पन्न भएपछि बन्दीपुर क्षेत्रको खानेपानी समस्या दीर्घकालीन रूपमा समाधान हुने विश्वास व्यक्त गरे।
बन्दीपुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका सचिव कृष्णकान्त भट्टराईका अनुसार नेता भट्टराईको पहलमा संघीय सरकारबाट तीन करोड रुपैयाँ विनियोजन भएपछि बन्दीपुर बृहत खानेपानी आयोजनाको काम अघि बढेको हो। करिब १९ करोड रुपैयाँ लागतमा मस्याङ्दी नदीबाट लिफ्ट प्रविधिबाट पानी तानेर बन्दीपुर क्षेत्रमा वितरण गर्ने लक्ष्य राखिएको छ। कार्यक्रममा सहभागीहरूले पदमा नहुँदा पनि जनहितका लागि गरिएको निरन्तर पहल प्रशंसनीय भएको प्रतिक्रिया दिएका थिए।
























