जन्मदिनको केकभन्दा जीवन बचाउने सहयोग रोजिन् दमाैलीकी अप्सरा श्रेष्ठले !
तनहुँ । माघ २ , तनहुँको व्यास नगरपालिका–१० स्थित अधेरी भञ्ज्याङमा बस्दै आएकी ४० वर्षीया पार्वती विक यतिबेला जीवन र मृत्युको दोसाँधमा संघर्ष गरिरहेकी छन्। चार छोरी र एक छोराकी आमाका रूपमा परिवारको सम्पूर्ण जिम्मेवारी बोकेकी पार्वती गम्भीर रोगका कारण लामो समयदेखि उपचाररत छिन्।
गरिबी, रोग र पारिवारिक अभावले थिचिएको अवस्थामा रहेको विक परिवारले उपचारका लागि समाजसँग सहयोगको अपिल गरिरहेको छ। यसैबीच व्यास नगरपालिका–३ निवासी अप्सरा श्रेष्ठले आफ्नो जन्मदिनको अवसरमा फजुल खर्च नगरी बिरामी पार्वती विकलाई नगद २ हजार ५५५ रुपैयाँ सहयोग गरेकी छन्। जन्मदिनमा केक काट्ने र भोज गर्ने परम्परा तोड्दै उनले मानवीय भावनाबाट प्रेरित भई सहयोग गरेको बताइन्। श्रेष्ठले तनहुँ प्रेस मा आएकाे भिडियो हेरेपछि थाहा पाएर सहयोग गर्न आएकाे भन्दै उक्त रकम तनहुँ प्रेसका सञ्चालक बिकास खनाल मार्फत हस्तान्तरण गरेकी हुन् ।
पार्वतीका श्रीमान रोजगारीका लागि भारतमा छन्। घरमा वृद्ध ससुरा हर्कबहादुर विक र प्यारालाइसिसका कारण ओछ्यानमै सीमित सासुको हेरचाह गर्ने जिम्मेवारी समेत पार्वतीकै काँधमा थियो। यही कमजोर पारिवारिक अवस्थाबीच उनको स्वास्थ्यमा गम्भीर समस्या देखिएको हो।

भारतमा रहँदा देखिएको स्वास्थ्य समस्यापछि उपचारका क्रममा उनको आन्द्रा र कलेजोमा गम्भीर समस्या पत्ता लागेको थियो। भरतपुर क्यान्सर अस्पतालमा उपचारका क्रममा खाना खाएलगत्तै बान्ता हुने अवस्था आएपछि तत्काल अप्रेसन गरी आईसीयूमा राख्नुपरेको थियो। हाल उनको पेटबाट पाइपमार्फत दिशा बाहिर निकाल्ने व्यवस्था गरिएको छ।
डाक्टरका अनुसार पार्वतीलाई डायलासिस गर्नुपर्ने, २८ दिनपछि किमोथेरापी सुरु गरी कम्तीमा ६ पटक किमो चढाउनुपर्ने अवस्था छ। हालसम्म उपचारमा करिब ५ लाख रुपैयाँ खर्च भइसकेको छ, जुन आफन्त तथा सहयोगीहरूबाट संकलन गरिएको हो। तर किमोथेरापीपछिको थप उपचारका लागि करिब २२ लाख रुपैयाँ आवश्यक पर्ने चिकित्सकले बताएका छन्।
आर्थिक स्रोत नभएकाले आवश्यक उपचारमा कठिनाइ भइरहेको परिवारले जनाएको छ। बिरामी पार्वती विकले आँखाभरि आँसु पार्दै आफूलाई बाँच्न मन लागेको र साना छोराछोरीको भविष्यको चिन्ताले सताइरहेको बताइन्। “सबैले सानो–सानो सहयोग गरे उपचार गरेर निको भएर छोराछोरीको हेरचाह गर्न पाउने आशा छ,” उनले भनिन्।
यस घटनाले समाजमा बढ्दो मानवीय संवेदना र सहयोग संस्कृतिलाई उजागर गरेको छ। स्थानीयवासी तथा सामाजिक अभियन्ताहरूले पार्वती विकको जीवन बचाउन सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्न आग्रह गरेका छन्।


























