व्यास १० कि क्यान्सर पिडित पार्वतीको जीवन बचाउन अमृत र सुभेच्छाकाे २० हजार सहयोग

व्यास १० कि क्यान्सर पिडित पार्वतीको जीवन बचाउन अमृत र सुभेच्छाकाे २० हजार सहयोग

तनहुँको व्यास नगरपालिका–१० स्थित अधेरी भञ्ज्याङमा बस्दै आएकी ४० वर्षीया पार्वती विक यतिबेला जीवन र मृत्युको दोसाँधमा संघर्ष गरिरहेकी छिन्। चार छोरी र एक छोराकी आमाका रूपमा परिवारको जिम्मेवारी बोकेकी पार्वतीको उपचारका लागि विक परिवारले भोगिरहेको पीडा अत्यन्तै मार्मिक छ।
पार्वतीका श्रीमान रोजगारीका लागि भारतमा छन्। घरमा वृद्ध ससुरा हर्कबहादुर विक छन् भने सासु प्यारालाइसिसका कारण ओछ्यानमै सीमित छिन्। यही कमजोर पारिवारिक अवस्थाबीच पार्वतीको स्वास्थ्यमा गम्भीर समस्या देखिएको हो।
भारतमा रहँदा देखिएको स्वास्थ्य समस्यापछि उपचारका क्रममा उनको आन्द्रा र कलेजोमा गम्भीर समस्या पत्ता लागेको थियो। भरतपुर क्यान्सर अस्पतालमा उपचारका क्रममा खाना खाएलगत्तै बान्ता हुने अवस्था आएपछि तत्काल अप्रेसन गरी आईसीयूमा राख्नुपरेको थियो। हाल उनको पेटबाट पाइपमार्फत दिशा बाहिर निकाल्ने व्यवस्था गरिएको छ। डाक्टरका अनुसार उनलाई डायलासिस गर्नुपर्ने, २८ दिनपछि किमोथेरापी सुरु गरी कम्तीमा ६ पटक किमो चढाउनुपर्ने अवस्था छ।
हालसम्म उपचारमा करिब ५ लाख रुपैयाँ खर्च भइसकेको छ, जुन आफन्त र सहयोगीहरूबाट संकलन गरिएको हो। तर किमोथेरापीपछिको थप उपचारका लागि करिब २२ लाख रुपैयाँ आवश्यक पर्ने डाक्टरले बताएका छन्। यो रकम जुटाउने अवस्था परिवारसँग छैन।
बिरामी पार्वती विकले आँखाभरि आँसु पार्दै आफूलाई बाँच्न मन लागेको र साना छोराछोरीको भविष्यको चिन्ताले सताइरहेको बताइन्। सबैले सहयोग गरे उपचार गरेर निको भई परिवार र सन्तानको हेरचाह गर्न पाउने आशा उनले व्यक्त गरिन्।
भावविह्वल हुँदै ससुरा हर्कबहादुर विक भन्छन्,
“श्रीमतीलाई जेनतेन बचाएँ, उनी प्यारालाइसिसले थला परेकी छिन्। अब बुहारी कसरी बचाउने ? नातिनातिना सानै छन्। तपाईंहरू नै भगवान हुनुहुन्छ, कृपया सहयोग गरिदिनुहोस्।”
यसैबीच, मानवीय संवेदनाबाट प्रेरित हुँदै विभिन्न व्यक्तिहरूले सहयोग गरेका छन्। व्यास नगरपालिका वडा नं. १० का घर भई हाल युकेमा बसोबास गर्दै आएका अमृत दरै र सुभेच्छा दरैले आफ्नो एनिभर्सरीको अवसरमा नगद १५ हजार रुपैयाँ तथा चामल, आलु, चाउचाउ र बिस्कुट गरी करिब २० हजार रुपैयाँ बराबरको सहयोग गरेका छन्। उक्त सहयोग व्यास नगरपालिका वडा नं. १० का वडा सदस्य ईश्वर पौडेलमार्फत बिरामीको घरमै पुगेर, सहयोगीका बुवा, दिदी, छोरा लगायतको उपस्थितिमा हस्तान्तरण गरिएको हो।


वडा सदस्य पौडेलले तनहुँ प्रेसमा प्रकाशित भिडियो तथा समाचार हेरेपछि पार्वती विकको अत्यन्तै दुखदायी अवस्था देखेर सहयोग लिएर आएको बताए।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page