तनहुँ–१ मा राप्रपाबाट धार्मिक अभियन्ता अभिषेक जोशी उम्मेदवार
दमौली, तनहुँ — आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले तनहुँ निर्वाचन क्षेत्र नम्बर १ मा धार्मिक अभियन्ता अभिषेक जोशीलाई प्रत्यक्षतर्फको उम्मेदवार बनाउने निर्णय गरेको छ।
पार्टीका अनुसार तनहुँको धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक गरिमालाई संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यसहित जोशीलाई उम्मेदवार चयन गरिएको हो। देवघाट जस्तो पवित्र तीर्थस्थल र महान ऋषि वेदव्यासको जन्मभूमिका रूपमा परिचित यस क्षेत्रको पहिचानलाई राष्ट्रिय स्तरमा उजागर गर्न सक्ने व्यक्तित्वका रूपमा जोशीलाई अघि सारिएको राप्रपाको भनाइ छ।
राप्रपा तनहुँका निवर्तमान अध्यक्ष विनोद घर्तीले पार्टीले यस निर्वाचनमा तनहुँको सांस्कृतिक र धार्मिक पहिचानलाई प्रमुख एजेन्डा बनाएको जानकारी दिनुभयो। उहाँका अनुसार जोशी लामो समयदेखि धार्मिक तथा सामाजिक अभियानहरूमा सक्रिय रहँदै आएका छन्।

घर्तीले तनहुँ ऋषिमुनिहरूको तपोभूमि भएकाले यहाँको आध्यात्मिक महत्व बुझ्ने तथा सनातन मूल्य–मान्यताको संरक्षण गर्न सक्ने नेतृत्व आवश्यक रहेको उल्लेख गर्नुभयो।

























