अन्तरमावि बास्केटबल प्रतियोगिता : छात्रातर्फ सत्यवती र छात्रतर्फ बाराही प्रथम
हैरान्स क्लब दमौलीको आयोजनामा सम्पन्न चौथो अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको फाइनल खेलमा छात्रातर्फ सत्यवती माध्यमिक विद्यालय र छात्रतर्फ बाराही माध्यमिक विद्यालय प्रथम भएका छन्।
प्रतियोगितामा ९ वटा विद्यालयको सहभागिता रहेको थियो। छात्रतर्फ प्रथम हुने विद्यालयले नगद १० हजार रुपैयाँसहित शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने द्वितीय हुने टोलीले ७ हजार रुपैयाँ नगदसहित शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ।
त्यसैगरी छात्रातर्फ प्रथम हुने टोलीले ७ हजार रुपैयाँ नगदसहित शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने द्वितीय हुने टोलीले ५ हजार रुपैयाँ नगदसहित शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ।
हैरान्स क्लबका कार्यवाहक अध्यक्ष कृष्णकुमार श्रेष्ठ (जेके) को अध्यक्षतामा सम्पन्न समापन तथा पुरस्कार वितरण कार्यक्रममा व्यास नगरपालिका वडा नं. २ का अध्यक्ष काशीराम श्रेष्ठ, वडा नं. ३ का अध्यक्ष अनुप राना, वडा सदस्य सुरेश वाग्ले, सुदिप गफ्फार, उज्वल भट्टराईलगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा वक्ताहरूले खेलकुदले विद्यार्थीको शारीरिक तथा मानसिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताउँदै यस्ता प्रतियोगितालाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए।


























