तनहुँमा लियो अन्तर–विद्यालय हाजिरीजवाफ प्रतियोगिता–२०२६ आयोजना हुँदै

तनहुँमा लियो अन्तर–विद्यालय हाजिरीजवाफ प्रतियोगिता–२०२६ आयोजना हुँदै


तनहुँ । लियो क्लब अफ तनहुँको आयोजनामा “लियो अन्तर–विद्यालय हाजिरीजवाफ प्रतियोगिता–२०२६” आयोजना हुने भएको छ । व्यास नगरपालिकाको प्रवर्द्धनमा सञ्चालन हुन लागेको उक्त प्रतियोगिता माघ १४ र १५ गते तनहुँ उद्योग वाणिज्य संघको सभाहल, दमौलीमा सम्पन्न हुने आयोजकले जानकारी दिएको छ ।
प्रतियोगितामा व्यास नगरपालिकाभित्र +२ तह सञ्चालनमा रहेका १८ वटा माध्यमिक विद्यालयहरूको सहभागिता रहनेछ । प्रतियोगिता तीन चरण (राउन्ड) मा सञ्चालन गरिनेछ ।
सामान्य ज्ञानअन्तर्गत खेलकुद, राजनीति तथा कानून, स्थानीय तह, विज्ञान तथा प्रविधि, भूगोल, नेपालको इतिहास, लायन्स तथा लियो सम्बन्धी विषय, स्वास्थ्य तथा जनसंख्या सम्बन्धी प्रश्नहरू समावेश गरिनेछन् । साथै र्‍यापिड फायर राउन्ड र भिजुअल राउन्ड पनि प्रतियोगितामा समावेश गरिने आयोजकले जनाएको छ ।
सहभागी विद्यालयहरूलाई विभिन्न समूहमा विभाजन गरिनेछ । प्रारम्भिक चरणबाट उत्कृष्ट प्रदर्शन गर्ने ६ टोलीहरू अन्तिम चरण (फाइनल राउन्ड) मा प्रवेश गर्नेछन् ।
प्रतियोगितामा प्रथम हुने टोलीलाई नगद रु. १५ हजार, द्वितीय हुने टोलीलाई रु. १० हजार र तृतीय हुने टोलीलाई रु. ५ हजारसहित प्रमाणपत्र प्रदान गरिने व्यवस्था गरिएको छ ।


कार्यक्रमको संयोजकमा लियो सागर घिमिरे रहनुभएको छ भने लियो क्लब अफ तनहुँका अध्यक्ष लियो रोबिन श्रेष्ठ रहनुभएको छ । प्रतियोगिताले विद्यार्थीहरूको बौद्धिक क्षमता अभिवृद्धि, प्रतिस्पर्धात्मक भावना विकास तथा शैक्षिक चेतना वृद्धि गर्न महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास आयोजकले लिएको छ ।
लियो क्लब अफ तनहुँले उक्त कार्यक्रममा सम्पूर्ण सरोकारवाला निकाय, विद्यालय, विद्यार्थी, अभिभावक तथा सञ्चारकर्मीहरूको सक्रिय सहभागिता र सहयोगको अपेक्षा गरेको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page